Odapalika - The Fourth Estate - चौथो अंग
अब प्रत्येक वडामा बुढाबुढी भेटघाट मिलन केन्द्र 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । 

बिहीबार मन्त्रालयले आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सवालहरु विद्यमान अवस्था र समस्या र बुढ्यौैली व्यवस्थापनमा विकास भएका नजिन अवधारणाबारे अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

दिनभरी एक्लै घरमा बस्दा मानसिक रोगको सिकार हुने भएको भन्दै उनले पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुको भेटघाट गर्ने मिलन केन्द्र बनाउन आवश्यक रहेको बताए ।  

‘समाजमा वृद्धहरुले बुढेसकालमा आफ्नो थलो छोडेर हिड्नुपर्ने अवस्था छ । त्यहाँबाट बाहिर आइसकेपछि पनि सहर बजारमा बसेपनि छोरा छोरी बुहारीको साथमा छैनन् । त्यो अर्को समस्या छ । दिनभरी एक्लै घरमा बस्दा कस्तो असर पर्छ । त्यस्तो अवस्थामा प्रत्येक पालिकाको प्रत्येक वडाहरुमा बुढाबुढीहरुलाई बस्ने दिउसो भेटघाट गर्ने मिलन केन्द्र बनाउन पायो भने राम्रो हुन्छ । मानसिक रोगबाट कसरी जोगाउन सकिन्छ । त्यसलाई महत्वपूर्ण रुपमा छलफल गरौं’, उनले भने । 

उनले व्यवहारिक कुराले पनि देशका सबै बुढापाकाहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । उक्त सम्मानले बुढेसकालमा आउने समस्याहरु, बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार हुन सक्ने उनको भनाई छ । 

उनले भने, ‘कतिपय व्यवहारको कुराले पनि हाम्रो समुदायमा रहेका हाम्रो बुढापाकाहरुलाई सम्मान गरौं । यसले बुढेसकालमा आउने समस्याहरु बुढ्यौलीमा देखिने समस्या र समाधानका पाटाहरुमा केही सुधार गर्ला कि भन्ने लाग्छ मलाई ।’ 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update