Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड, प्रविधि प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको सरकारको ठहर

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषलाई आइसिटी अवार्ड २०२४ बाट सम्मानित गरेको छ । कोषले सुचना तथा प्रविधिको प्रयोग गरी प्रभावकारी सेवा प्रवाह गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट कोषलाई अवार्ड प्रदान गरेका हुन् ।

सरकारले हरेक वर्षको मे २ तारिकमा सुचना प्रविधि दिवस मनाउने गरेको छ । यो दिवसको दिन सुचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्ने व्यक्ति, संस्था तथा निकायलाई सरकारले अवार्ड प्रदान गर्ने गरेको छ । यसै सन्दर्भमा कोषले सुचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहमा प्रभावकारी काम गरेको ठहर गरेर सरकारले अवार्ड प्रदान गरेको हो ।

सरकारले दिवसमा ७ विधामा अवार्ड प्रदान गर्ने गरेको छ । यो वर्ष नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ (महिला), नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४, नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर), नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर प्रोभेन्सियल) र नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४ वितरण गरिएको छ ।

यसमध्ये कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको हो । 

श्रम कानुन लागू हुने औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रम संचालन गरिरहेको कोषले सुचना प्रविधिको अधिकतम प्रयोग गरेको छ । कोषले अहिले नेपालभर तथा विदेशमा रोजगारीमा रहेका नेपालीलाई समेत सेवा प्रदान गरिरहेको छ । तर, कोषले यी सबै सेवा अनलाइन प्रविधि मार्फत उपलब्ध गराएको छ । 

कोषमा आवद्ध श्रमिकले औषधी उपचार गर्नुपरेमा कोषसँग सम्झौता गरेको अस्पतालमा सरकारी दरअनुसारको रकमको २० प्रतिशत मात्रै तिरे पुग्छ । बाँकी ८० प्रतिशत रकम कोषले व्यहोर्छ । यसरी श्रमिकलाई सुविधा दिने तथा उपचार गर्ने तथा औषधी विक्री गर्ने फार्मेसीसम्म कोषको अनलाइन प्रणालीमा जोडिएका छन् । अर्थात यस्तो कार्य सबै अनलाइन प्रणालीबाट हुन्छ ।

यस्तै, कोषमा अहिलेसम्म १८ हजार ८८५ वटा रोजगारदाता आवद्ध भएका छन् भने १३ लाख १४ हजार ३४४ जना योगदानकर्ता सुचीकृत भएका छन् । कोषमा रोजगारदाता र योगदानकर्ता सुचीकृत हुने भनेको अनलाइन प्रणालीबाटै हो । कोषले अहिलेसम्म सुचीकरणका लागि एउटा पनि डेस्क स्थापना गरेको छैन भने उसका कुनै एजेन्ट पनि छैनन् । सुचना प्रविधिको प्रयोग गरेर नै कोषले यति धेरै रोजगारदाता र योगदानकर्तालाई सेवा प्रदान गरिरहेको छ ।

कोषमा अहिलेसम्म ५४ अर्ब २१ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ भने ८ अर्ब ८२ करोड रुपैयाँ योगदानकर्तालाई भुक्तानी गरिसकेको छ । यसरी रकम जम्मा हुने र योगदानकर्तालाई भुक्तानी हुने पनि अनलाइन प्रणालीबाटै हो । अर्थात कोषको कुनै नगद संकलन वा नगद वितरण काउन्टर छैन । यो सबै कार्य अनलाइन प्रणालीबाटै हुन्छ । 

कोषले सुचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको र आगामी दिनपनि सम्भव भएसम्म नयाँ प्रविधिको प्रयोग गरेर अझ उन्नत प्रकारको सेवा सुविधा दिने सोच बनाएको कोषका निर्देशक डा. रोशन कोजुले बताए । 

कुन विधामा कसले पाए अवार्ड ?

  • नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ –डा. शैलेन्द्र गिरी
  • नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२४ –लेना केशरी कंसाकार
  • नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) –सामाजिक सुरक्षा कोष
  • नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) –डेटा हब प्रालि 
  • नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर– प्रोभिन्सियल) –डाइनामिक टेक्नोसफ्ट
  • नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ –वन पोइन्ट फाइनान्सियल सर्भिसेस
  • नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४ –मोनाल टेक
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update