Odapalika - The Fourth Estate - चौथो अंग
सिंहदरबार अगाडिका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरले संघीय सरकारको मुख्य प्रशासनिक मुकाम सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थित रूपमा फालिएका फोहोरमैला हटाएको छ ।
महानगरले राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहोरमैला हटाएको हो ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहोरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए ।
‘सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौं । आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिन महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूणर् व्यक्ति जिम्मेवार हुनुपर्दछ’, उनले भने ।
सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहोरमैला राखे जरिमाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताए । सिंहदरबारको पश्चिम गेट अगाडि पुलमुनि रहेका रेस्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो ।
महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संचना हटाएको छ ।
महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षरोपण कार्यक्रम गरिने जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update