Odapalika - The Fourth Estate - चौथो अंग
अत्यावश्यक सेवामा सरकारको खेलाची, चल्न छोड्यो इन्टरनेट

काठमाडौं । नेपालमा इन्टरनेट चल्न छोडेको छ । विहीबार अपरान्हदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसुलगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त भएको हो ।

भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको कारण यस्तो भएको हुन सक्ने नेपालका इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् । यद्यपि, यसै कारण इन्टरनेट सुस्त भएको हो कि होइन भन्ने अझै पुष्टी नभएको सेवा प्रदायकहरुको भनाइ छ ।

सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् । 

त्यसो त एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएको खण्डमा इन्टरनेट लिङ्क नै काटिदिने चेतावनी पटक पटक नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई दिंदै आइरहेका छन् । प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको जनाइएको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सरकारले विदेशी मुद्रा सिफारिस तत्काल नदिने हो भने जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जानकारी गराउँदै आएका थिए । तर, सरकारले विवादित बक्यौता भुक्तानी नभएसम्म विदेशी मुद्रा सिफारिस नगर्ने अडान लिदै आएको छ । सरकारको यही अडानका कारण इन्टरनेट सेवामा समस्या आएको हो । सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेपनि सरकारसँगको विवादकै कारण यो सेवाबाट नागरिक बन्चित हुनु परेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update