Odapalika - The Fourth Estate - चौथो अंग
बाख्रा पाल्नेदेखि घासखेती गर्ने किसानलाई साढे ३१ लाखको अनुदान दिदैँ महाशिला, कसरी दिने आवेदन ?

काठमाडौँ । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले किसानलाई अनुदान दिने भएको छ । पालिकाले बजेटमा नै व्यवस्था भएअनुसार गाई, भैसी तथा बाख्रा पाल्ने किसानदेखि घासखेती गर्ने कृषक समूहलाई अनुदान वितरण गर्न लागेको हो । 

पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले उक्त अनुदान वितरण गर्न लागिएको पालिकाले जनाएको छ । 

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई ३१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्दै छ । 

महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि २५ लाख रुपैयाँ प्रदान गरिने छ । 

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ ।  अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि तीन लाख ५० हजार रुपैयाँ अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उनले बताए । कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ सात हजार रुपैयाँ ा दरले अनुदान दिइने छ । 

पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका  एक लाख ५० हजार रुपैयाँ अनुदान दिइने छ । स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ । 

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । 

चालु आर्थिक वर्षमा एक लाख ५० हजार रुपैयाँ बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए ।

अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update