Odapalika - The Fourth Estate - चौथो अंग
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?

काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी ग्रुपले आफ्नै एसेम्बल प्लान्ट सञ्चालन गर्ने भएको छ । 

कम्पनीले नवलपरासीको रामग्राम नगरपालिका ६ मा १० बिघा जग्गामा निर्माण गरेको एसेम्बल प्लान्ट २८ गते औपचारिक रुपमा उद्घाटन गर्न लागेको हो । हाल परीक्षण उत्पादन गरेर औपचारिक उद्घाटनमा रहेको कम्पनीले २८ गतेदेखि नै नियमित उत्पादन सुरु गर्ने जानकारी दिएको छ ।

कम्पनीले प्रतिघण्टा ३ वटासम्म गाडी बनाउन सक्ने क्षमता रहेको जानकारी दिएको छ । सुरुवाती चरणमा हाल बिक्री हुँदै आएको ‘हुण्डाई भेन्यु’को उत्पादन गर्ने र विस्तारै अन्य मोडलका गाडीहरु उत्पादन गर्ने लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले जानकारी दिए ।

हाल डिजेल तथा पेट्रोलका गाडी मात्रै उत्पादन गरेर आगामी वर्षदेखि विद्युतीय गाडी उत्पादनको तयारी भएको उनकाे भनाइ छ ।

एसेम्बलिङ प्लान्टमा १ सयभन्दा बढीले प्रत्यक्ष  रोजगारी पाएका छन् । प्लान्ट सञ्चालनमा आएपछि बजारको माग अनुसार गाडीको उत्पादन पनि बढ्दै जाने र रोजगारी पनि थपिँदै जाने कम्पनीको भनाइ छ ।

आयात गरेर बेच्दाभन्दा यहि उत्पादन गरेर बेच्दा गाडी पनि अहिलेको तुलनामा केही सस्तो हुने बताइएको छ । अहिले हुण्डाई भेन्युको मूल्य नेपाली बजारमा प्रतिकार ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म छ ।

२०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो । 

कम्पनीले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । 

लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन् । उनीहरूले हालसम्म एसेम्बलमा जाने प्रक्रिया भने सुरु गरेका छैनन् ।

प्रक्रियागत जटिलता हटाइदिन कोरियाली राजदूतको आग्रह

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले एसेम्बल प्लान्टमा केही कानूनी र प्रक्रियागत जटिलता देखिएको भन्दै समाधान गरिदिन अर्थमन्त्री वर्षमान पुनसँग आग्रह गरेका थिए । 

मन्त्री पुनसँगको भेटमा उनले आगामी मे महिनाबाट नेपालमै हुन्डाईका गाडी उत्पादन हुने जानकारी दिदँै सो कुरा राखेका थिए । 

उनले नेपालस्थित प्लान्टबाट वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । सुरुमा भेन्यु कारबाट गाडी उत्पादन गर्ने कम्पनीको तयारी भएको बताएका थिए । 

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस र रोजगारीका अवसर सिर्जना होओस् भन्ने चाहना राखेकाले हालै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस् । हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं’, उनले भनेका थिए । 

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्ने उनको चासो थियो ।

नेपालमा हालसम्म २ पांग्रे सवारी साधनको एसेम्बल हुने गरेको भएपनि ४ प्रांग्रे सवारी साधानको भने एसेम्बल सुरु भएको छैन । दुई पांग्रे सवारी साधानहरु रोयल इन्फिल्ड, बजाज, यामाहा, टीभीएस, हिरो लगायतले नेपालमै एसेम्बल गरी मोटरसाइकल उत्पादन गरिरहेका छन् ।

यसको सूचीमा चारपाङ्ग्रे सवारी उत्पादक हुण्डाई समेत बैशाख २८ गतेदेखि गाडीको उत्पादन गरेर संख्यामा थपिन लागेको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update