Odapalika - The Fourth Estate - चौथो अंग
प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत

प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत

काठमाडाैँ । हेटौंडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार उद्घाटन गरेको प्रतियोगितामा हेटौंडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०, १९–२५, १५–७ ले हराएको हो । अर्को खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५–२१, २२–२५, १६–१४ ले हरायो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ललितपुर चापागाउँदेखि लेले टिकाभैरव हुँदै महांकाल गाउँपालिका जाने सडकको स्तरोन्नतिका लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले महाकांल गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणाका लागि प्रदेश सरकारसँग समन्वय गरेर पहल सुरु गरिने पनि बताए ।

आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलले प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्नुको साथै महांकांल क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । संयोजक गोलले राज्यले चासो दिए सो क्षेत्रमा कृषि क्षेत्रमा समेत महत्वपूर्ण फड्को मार्न सक्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता आगामी मंगलबारसम्म हुने छ । 

प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ छ । विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ छ । प्रतियोगिताका सबै खेलहरू ललितपुरको महाकाल गाउँपालिकास्थित महांकाल माविको प्रांगणमा भयरहेको हो । 

प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update