Odapalika - The Fourth Estate - चौथो अंग
के दिए माओवादी सम्बद्ध डेढ दर्जन विभागका प्रमुखले अर्थमन्त्री पुनलाई सुझाव ?     

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । 

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनले आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरेका थिए । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । 

कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे । बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाए ।                                              

अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update