Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा दर्ता भयो इनड्राइभ, अब राइडले कमिसन बुझाउनुपर्ने

काठमाडौँ । नेपालमा लामो समयदेखि बिनादर्ता सञ्चालन हुँदै आएको इनड्राइभ आधिकारीक रुपमा दर्ता भएको छ । 

५ करोड रुपैयाँ चुक्तापुँजी राख्दै उद्योगका रुपमा इनड्राइभ सोमबारदेखि नेपालमा औपचारिक रुपमा दर्ता भएको हो । 

सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा दर्ता गरेको हो । 

कम्पनी दर्ता भएसँगै प्यानमा दर्ता भएपछि अब इनड्राइभका राइडरबाट कमिसन उठाउने छ । इनड्राइभका एक प्रतिनिधिले यतिनै प्रतिशत उठाउने भन्ने विषय अध्ययनकै चरणमा रहेको भन्दै अब छिटै राइडरबाट कमिसन उठाइने बताए । 

हाल सञ्चालनमा रहेका केही राइड सेयरिङ प्लाटफर्मले स्पष्ट कानुनी प्रावधानबिनै २० प्रतिशतसम्म कमिसन लिने गरेको उल्लेख गर्दै उद्योग विभागका अधिकारीले यी विषयमा पनि प्रक्रियागत र कानुनी स्पष्टता हुनुपर्ने धारणा राखे । 

४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पुर्‍याएको इनड्राइभले दाबी गर्ने गरेको छ । 

कम्पनीले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवासमेत प्रदान गर्दै आएको छ । 

नेपालमा राइड सेयरिङ उद्योगका रूपमा दर्ता गर्न लगभग एक वर्ष प्रयास गरेपछि इनड्राइभले अन्ततः आफ्नो अनौपचारिक सेवालाई कानुनी रूप दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update