Odapalika - The Fourth Estate - चौथो अंग
आइस्पानले भन्योः सरकारी कम्पनीले अबौँ तिर्न बाँकी छ, हामीमाथि सरकारले विभेद गर्‍यो

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले सरकारकै कारण बैशाख २० गते ६ घण्टासम्म नेपालको इन्टरनेट सेवा अवरुद्ध बनेको जनाएको छ । 

आइस्पानले एक विज्ञप्ती जारी गर्दै सरकारकै कारण इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जनाएको हो । 

‘विगत १३ महिनादेखि दूरसंचार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सिफारिस नदिएको हुँदा एयरटेललगायतका अपस्ट्रिम सेवा प्रदायकहरूले आफ्नो भुक्तानी पाएका छैनन् । सोही कारण अन्तर्राष्ट्रिय इन्टरनेट ब्याण्डविथ सेवा प्रदायकहरूले भुक्तानी नभएमा इन्टरनेट सेवा अवरुद्ध गर्ने भनि पत्र पठाएका थिए र उक्त पत्र समेत इन्टरनेट सेवा प्रदायक सङ्घ मार्फत नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएका थियौं’, विज्ञप्तीमा भनिएको छ, ‘मन्त्रालय र प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत यस विषयलाई गम्भीरतापूर्वक नलिएको हुनाले मिति २०८१ वैशाख २० गते अप्रत्याशित रूपमा एयरटेलले आफूले नेटवर्क सेवा प्रदायकहरूलाई प्रदान गर्दै आइरहेको सेवा अवरुद्ध गरेको थियो ।’

आइस्पाननले दूरसञ्चार ऐन, दूरसञ्चार नियमावली र ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली अनुसार दूरसञ्चार सेवा बापतको आयमा रोयल्टी र आरटीडीएफ, आईएसपी तथा नेटवर्क सेवा प्रदायकहरूले नियमित रूपमा बुझाउँदै आइरहेका स्पष्ट पारेको छ । 

उक्त सेवा बाहेकको मर्मत तथा सम्भार शुल्क जस्ता गैरदूरसञ्चार सेवामा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर तिर्नुपर्ने कानुनी प्रावधान  नभएको जनाईएको छ । 

सर्वोच्च अदालतले समेत मर्मत सम्भार दस्तुरमा आरटीडीएफ र रोयल्टी असुल नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको भन्दै आइस्पानले मन्त्रालय र प्राधिकरणले विदेशी मुद्रा सिफारिस नदिएकाले इन्टरनेट सेवा उद्योग नै धराशायी हुने अवस्था सिर्जना भएको जनाएको छ । 

संघले सरकारी सेवा प्रदायकले अब रुपैयाँ बक्यौता हुँदा पनि सजिलै विदेशी मुद्रा सिफारिस तथा सहजीकरण पाइरहेका भन्दै निजी क्षेत्रका कम्पनीमाथि विभेदकारी नीति अबलम्बन गरेको उल्लेख गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update