Odapalika - The Fourth Estate - चौथो अंग
अग्नीपीडितलाई लहान नगरपालिकाले दियो खाद्यान्न, घर बनाउन २५ हजार दिने

काठमाडौँ । सिरहाको लहान नगरपालिकाले आगलागीपीडितलाई खाद्यान्न लगायत सहयोग गरेको छ । पालिकाले वडा नम्बर १७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई राहत सामग्री उपलब्ध गराएको हो । 

नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरेका हुन् । 

राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप २५÷२५ हजार रुपैयाँ नगद उपलब्ध गराउने बताए । 

‘आगलागीका कारण घर जलेकाले पालिकाले पीडितलाई जीविकोपार्जनमा सहज होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरेको हो’, उनले भने, ‘दलित तथा विपन्न समुदायलाई स्थानीय सरकार भएको महसुस गराउनु जनप्रतिनिधिको प्रमुख दायित्व हो ।’

इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी र सशस्त्र प्रहरी लहानका प्रमुखको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । एक साताअघि पीडित बस्दै आएको घर तथा कटेरोमा आगलागी भएको थियो । 

यसअघि मुस्लिम समुदायबाट पनि मोहम्मद सेराजको अगुवाइमा वडाअध्यक्ष प्रथमलाल चौधरीको उपस्थितिमा आगलागी पीडितलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको थियो । आगोले घर जलेपछि अस्थायी संरचना बनाउन स्थानीयले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update