Odapalika - The Fourth Estate - चौथो अंग
जीवनलाई आफूसँग एकाकार गर्ने ‘लय विज्ञान’ सुरु

काठमाडौं । मानिसलाई आफूसँग एकाकार गर्दै ईश्वरीय तत्वसँग साक्षात्कार गराउँने लय विज्ञान कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।   

जीवन विज्ञानको आयोजनामा बैशाख २३ गतेदेखि काठमाडौंको बानेश्वरमा कार्यक्रम सुरु भएको हो । यो कार्यक्रम ७ दिनसम्म संचालन हुनेछ । ध्यान साधनामुखी कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल र एलपी भानु शर्माले मानिसलाई आफूसँग एकाकार हुन वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराउने छन् । जसले मानिसले आफ्नो गन्तव्य पत्ता लगाई लक्ष्यमा अगाडि बढ्न मद्दत र मार्ग दर्शन गर्दछ । 

विशेषज्ञद्वयले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफुसँग एकाकार गराई जीवन, जगत र ईश्वरीय तत्वबिचको अन्तरसम्बन्ध स्पष्ट गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । मानिसमा भएका क्षमताको पहिचान गर्ने, स्वबोध गर्ने र जीवनलाई सर्वकल्याणका लागि प्रयोग गर्ने विधिहरूको प्रयोग र अभ्यास सो कार्यक्रममा हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमबाट मानिसले आफूमा रहेका शारीरिक, मानसिक र भावनात्मक कमजोरीहरू हटाउन र सकारात्मक र ऊर्जाशील जीवन जिउन सहज बनाउनेछ । 

कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवासायी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका ४ सयभन्दाबढी व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update