Odapalika - The Fourth Estate - चौथो अंग
रोङ गाउँपालिकामा फक्रिरहेका मनि कुमारका सपना 

काठमाडाैँ । झापा जिल्लालाई छाडेर इलाम टेक्ने वित्तिकै सुरु हुन्छ रोङ गाउँपालिका । मेची राजमार्ग हुँदै झापाको सीमा पार गरेर एउटा घुम्ती मोडिएपछि देखिन्छ जोरकलस । हो यही कलसबाट सुरु हुन्छ रोङमा फक्रिदै गरेका जनप्रतिनिधिका सुन्दर सपना । 

यी सपना साकार पार्न अहोरात्र खटेका छन् रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो, उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीसहितका पालिकाको टीम । 

यो टीम पालिकाको पूर्वाधार विकासमा जति अव्बल देखिन्छ, त्यो भन्दा वढी अव्बल छ शिक्षा र कृषि क्षेत्रमा पालिकाले थालेका सुधारका काम । 

पालिका अध्यक्ष स्याङ्बो निर्वाचनताका आफुले गरेको बाचामा अडिग रहदा जनजाति बाहुल्यको यो पालिकाबासी जनप्रतिनिधिको काममा मख्ख छन् । जनता मख्ख पार्ने गरी के गर्दैछ त रोङ गाउँपालिकाको जुझारु टीम ? वडापालिकाको यो आलेख यसैमा केन्द्रीत छ । 

सुरु हुँदैछ तितेपाती बेच्ने अभियान 

केही दिन अघि गाउँपालिकाले एउटा सूचना जारी गर्यो– तितेपाती खेती सुरुवात गर्ने तयारी, विरुवा बितरण सँगै खरिद सम्झौता हुनेछ । 

यो पालिकाभित्र प्राकृतिक रुपमै तितेपाती पर्याप्त पाइन्छ । स्थानीय स्तरमै भएको यो तितेपाती स्थानीयले बाख्रालाई खुवाउँछन् । 

तर पालिका अध्यक्ष स्याङ्वो यतिवेला यही तितेपाती मार्फत पालिकाको समृद्धिमा जुटेका छन् । अध्यक्षले पदभार ग्रहण गरेकै दिन एउटा बाचा गरेका थिए– बन मार्फत समृद्धि ल्याउने । 

‘बनमा भएका तितेपाती संकलन गर्ने, स्थानीयलाई यसको खेती गराउने काममा जुटेको छु,’ अध्यक्ष स्याङ्वोले वडापालिकासँग भने, ‘ तितेपाती खेतीबाट मोग्जा उत्पादन गर्ने, यसो भएपछि बाँदर आतंक पनि कम हुने भयो ।’ 

हामीले उनलाई सोध्यौँ– मोग्जा भनेको के हो ? उनले बेलीविस्तार लगाए । 

तितेपातीको पातको पछाडिको भुवालाई रिफाईन गरेर निकालिएको भुवादार पदार्थलाई मोग्जा भनिन्छ । उक्त मोग्जा लाई नै औषधिको रुपमा प्रयोग गरिन्छ ।

बिश्वमा तितेपातीको मोग्जा उत्पादन गर्ने पहिलो देश चीन हो । दोस्रो जापान, तेस्रो कोरिया हो भने चौथो नेपाल पर्छ ।  बिश्वमा पाइने उच्च गुणस्तर मोग्जा नेपालको भएको पनि उनले सुनाए । 

यो खेतीलाई प्रवद्र्धन गरी उच्च परिमाणमा उत्पादन गर्दै निर्यात गर्ने उनको लक्ष्य छ । यसो गरे आन्तरिक आय वृद्धि, रोजगारी सृजना हुने र ग्रामीण अर्थतन्त्र चलायमान हुने उनको विस्वास छ ।

तितेपाती बाँदर, दुम्सी, खरायो जस्ता जनावरले नखाने र चोरेर पनि नलैजाने भएकाले पनि पालिकावासी तितेपाती खेतीमा सहजै आकर्षित हुने उनको बुझाइ छ । 

पालिकाले बिरुवा बितरण संगै खरिद सम्झौता गर्ने र यसको सहजीकरण पालिकाको कृषि शाखा र वडा कार्यालयहरुले गर्ने उनको भनाइ छ । 

जताततै होमस्टे 

रोङ गाउँपालिकाले पर्यटनलक्षित कार्यक्रम थालेपछि यहाँका स्थानीय यसबाटै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् । 

गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । २२ वटा घरलाई सामुदायिक होमस्टेमा रुपान्तरण गरेर सञ्चालनमा ल्याएपछि पर्यटक आगमन पनि बढेको अध्यक्ष स्याङ्वो बताउँछन् । 

विगत ५ वर्षदेखि ‘दशकेलो सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताए । कालिदास नेपाल, अष्ट्रेलियन सरकारको सहयोगमा सामुदायिक होमस्टे सञ्चालन गरिएको उनको भनाइ छ ।

आहा ! रोङको मह 

प्रमुख प्रशासकीय अधिकृत त्रिखत्रीकाका अनुसार पालिकाले मौरी पालनलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको छ । 

कृतिम रानी मौरी उत्पादनका लागि पालिकाभित्रका १० जना कृषकलाई ३ साता लामो तालिम दिइएको छ भने पालिकाले यो अवधिमा मात्र ३५ हजार फलफूलको विरुवा वितरण गरेको छ । 

कागती, एभोकाडो र कफीका विरुवासमेत दिदै आएको पालिकाले स्थानीय कृषकलाई ६०० वटा मौरीका आधुनिक घार वितरण गरेको उनले जानकारी दिए ।

मौरी विकास कार्यक्रम अन्तर्गत १७० जना कृषकलाई मौरीपालन तालिम दिएको पालिकाले स्थानीयले पालेका गाईको कृतिम गर्भाधानमा समेत लगानी गर्दै आएको छ । 

बाख्रा साना व्यावसायिक पकेट कार्यक्रम अन्तर्गत पालिकाका ५ वटा वडामा ५० प्रतिशत अनुदान दिएर बाख्राको खोर बनाउने कामसमेत सम्पन्न भएको पालिका अध्यक्षको भनाइ छ ।

गुन्द्रुकको अचार, सिस्नोको झोल 

पालिकाले स्थानीयवासीलाई गुन्द्रुक र सिस्नो उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाले रोङको पहिचानका रुपमा गुन्द्रुक र सिस्नुको प्रचारप्रसार र बिक्री वितरणको व्यवस्था मिलाइदिएपछि स्थानीयहरुको आयाआर्जनको श्रोतसमेत बढेको पालिका अध्यक्षको भनाइ छ । 

अब पालो बेसारको 

गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि गाउँपालिकाले बेसार प्रवद्र्धन अभियान चलाइरहेको छ । 

बाँदरलगायत जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका तितेपातीसँगै बेसार उत्पादनमा अनुदानलगायतका स्कीम अघि सारेको छ । 

पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ ।सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष विणुमाया खवास बताउँछिन् । 

४५ जना किसानलाई अनुदानमा ८५० केजी बेसार दिएर खेती गर्न भनिएको छ भने उत्पादित बेसार सहकारीमार्फत नै खरिद गरिने सम्झौता भएको छ । एक केजी बेसारबाट १५ किलोसम्म उत्पादन लिइरहेको कृषकहरु बताउँछन् । 

पालिकाले गुन्द्रुक र सिस्नोको पनि ब्रान्डिङ गरिरहरेको छ । पालिकाभित्र उत्पादित सिस्नो र गुन्द्रुक अहिले झापा लगायतका बजारमा पुग्न थालेको छ । 

हरेक विद्यार्थीले जम्मा गर्छन् १ रुपैयाँ 

गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ । 

अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित नहुन् भनेर यो अभियान चलाइएको गाउँपालिका अध्यक्षस्याङ्बोले जानकारी दिए । 

‘प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन १ रुपैयाँ जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाइरहेको छ,’ उनले भने । 

यो कार्यक्रमका लागि दैनिक एक रुपैयाँका दरले पालिकाको वार्षिक ५ लाख ९४ हजार खर्च रुपैयाँ खर्च हुने उनको भनाइ छ । 

बालबालिकालाई दिनको न्यूनतम एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक ६ हजारसम्म बचत गरिरहेको उनले जानकारी दिए । 

‘हामीले हरेक दिन एक रुपैयाँ बचत गर्नुपर्छ भन्दा एक महिनामा ३० रुपैयाँ हुने हो । तर बालबालिकाले ६ हजारसम्म बचत गरिरहेका छन् । यो कार्यक्रमले बालबालिकामा बचत गर्ने संस्कार सिकाएको छ,’ उनले भने । 

बर्थ डे मनाउने पैसा बैँकमा

उनका अनुसार वालवालिकाले दैनिक १ रुपैयाँका दरले गरेको गरेको बचत मात्र हाल ९ लाख रुपैयाँ पुगिसेकको छ । 

विद्यार्थीले जन्मदिन मनाउन, परिवारका सदस्यको विवाहमा हुने खर्चलगायत कटौती गरेर पालिकाले प्राइम बैँकमा खोलिदिएको खातामा जम्मा गर्न थालेका छन् । 

विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम संचालन गर्ने तयारमिा रहेको पालिकाले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने, पालिकाभरका अनाथ र असहाय विद्यार्थीलाई निःशुल्क रुपमा पढाउने अध्यक्षको भनाइ छ । 

विद्यालयको बाँझो जग्गाको तथ्यांक निकालिरहेको पालिकाले अब यी जग्गामा विद्यार्थीलाई बास, सुपारी, चिया, एभोकार्डो आदि खेती गर्न लगाएर उद्यमशीलतासँग जोड्ने अभियान पनि सँगसँगै अघि वढाएको अध्यक्ष स्याङ्बोले बताए । 

1rs-1714994499.jpg

विद्यार्थी उद्यमशीलता, बैँकखाता लगायतका अभियानपछि गाउँपालिकाले केही वर्षभित्रै छात्रवृत्ति वितरण रोक्ने बताएको छ । छात्रवृत्तिको सट्टा बचत अभियानलाई नै अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाको सोच छ । पालिकाले यो वर्ष २० लाख रुपैयाँको छात्रवृत्ति बाँढेको छ ।  अबको ३ वर्षपछि यो अभियान रोक्ने गाउँपलिकाको तयारी छ । 

गाउँपालिकाको ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत सञ्चालित बचत कार्यक्रमबाट पालिकाभरिका ३० वटा विद्यालयका करिब २ हजार ५०० विद्यार्थीले लाभ लिइरहेका छन् । 

विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ शर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि बैंकले २ लाख ५० हजारभन्दा बढी सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

अभिभावक पनि पढ्छन् 

गाउँपालिकाभित्र  ३० वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अहिले २ हजार ५०० वढी विद्यार्थी अध्ययनरत छन् । 

देशभरका सामुदायिक विद्यालयको स्तर खस्किएको भन्ने गुनासो बढिरहेको समयमा रोङ गाउँपालिका भने नयाँ अभियानमा छ । रोङ गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरु अहिले विद्यार्र्थी मात्रै होइन, अभिभावकलाई पनि पढाइरहेको छ ।

अभिभावक जिम्मेवार नभएसम्म शिक्षकले मात्रै पढाएको भरमा विद्यालय शिक्षाको गुणस्तर सुधार्न नसकिने निष्कर्ष निकालेर अभिभावकलाई महिनाको एक दिन विद्यालय आएर पढ्नै पर्ने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बो बताउँछन् । 

avibvawak-1714994390.jpg

‘सबै अभिभावक महिनाको एक दिन विद्यालयमा गएर पढ्नै पर्छ । नपढे वडा कार्यालयबाट उनीहरुले पाउने सबै प्रकारका सेवा सुविधा रोकिन्छ । एक दिन जाने हो, गएको दिन ३ घण्टा पढ्ने हो । यसका लागि कार्यविधि बनाएका छौं । अभिभावक शिक्षा सहजीकरण पुस्तिका बनाएका छौं । तालिम दिएर २३ जना सहजकर्ता तयार पारेका छौं । अभिभावक जिम्मेवार नभएसम्म शिक्षकले पढाएको भरमा सामुदायिक विद्यालयको स्तर सुधार नहुने देखिएपछि यसो गर्न थालिएको हो,’ अध्यक्ष स्याङ्बोले वडापालिकासँग भने ।

अभिभावक शिक्षालाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठकले अभिभावक शिक्षा सञ्चालन कार्यविधि स्वीकृत गरिसकेको छ । शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा अभिभावकलाई जानकारी दिन अभिभावक शिक्षाको व्यवस्था गरिएको गाउँपालिकाको भनाइ छ ।

अभिभावकहरु पढ्नका लागि विद्यालय गएका दिन कक्षा ८ भन्दा माथिका विद्यार्थी भने घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको छ । कक्षा ८ भन्दा तलका विद्यार्थी भने अभिभावकसँगै विद्यालय जाने व्यवस्था मिलाइएको छ । 

avibvawak-1-1714994389.jpg

अभिभावकलाई दिने क्युआर कोडसहितको आइडी कार्डका सहायताले कुनै अभिभावक पढ्नको लागि आए नआएको सहजै थाहा हुने उनले बताए । 

यसअघि नै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर खरिद गरेर उपलब्ध गराइसकेको छ । प्रत्येक शिक्षकले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने भन्दै गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको हो ।

पदमार्गको आकर्षण 

पालिकाले सानो पाथीभरादेखि मेचीसिद्धी दोभानसम्म १९ किलोमिटर लामो करसोङ पदमार्ग समेत सञ्चालनमा ल्याएको छ । पालिकामा रहेको सानो पाथीभरामा वार्षिक डेढदेखि २ लाखसम्म पर्यटक आउने गरेका छन् । 

ज्येष्ठ नागरिकलाई रेडियो 

गाउँपालिकाले रोगको खोजी अभियान र रेडियो जेष्ठ नागरिकलाई रेडियो बितरण कार्यक्रम पनि एकसाथ अघि वढाइरहेको छ । 

यो अभियानअन्तर्गत पालिकाको वडा नं ५ मा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर संचालन भइसकेको छ  । शिविरमा महिलाको पाठेघरमा हुने क्यान्सरलगायतका रोग परीक्षण हुन्छन् । यसबाट हालसम्म ८०० जनाभन्दा वढीले लाभ लिइसकेका छन् भने उनीहरुलाई निःशुल्क उपचार गरी औषधि वितरण गरिएको पालिकालको भनाइ छ ।

radio-1714994724.jpg


 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update