Odapalika - The Fourth Estate - चौथो अंग
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या 

कास्की । पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । बिहीबार महानगर र फोहर विसर्जनका विरुद्ध गठित संघर्ष समितिबीच सहमति भएको छ  ।

महानगरले अस्थायी फोहर बिसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि २ सातादेखि महानगरको फोहोर व्यवस्थापन अस्तव्यस्त थियो । 

    महानगरले फोहर बिसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन । 

स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई  जिम्मेवारी दिएका थिए । 

वडाध्यक्षद्वयको पहलमा स्थानीय, संघर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।

सहमतिअनुसार फोहर बोकेका गाडी बिर्सजनस्थलमा बिहान ६ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहर पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्नेछ । 

बिर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री संकलन गरिने छैन । सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।

फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ । 

स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउनेलगायतका विषय सहमतिमा उल्लेख रहेको महानगर प्रमुख आचार्यले जानकारी दिए ।

स्थानीयले फोहर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहर व्यवस्थापन गर्ने कानुनी बाटोसमेत खुला भएको थियो । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको फोहर बिसर्जनस्थलमा फोहरमैला लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायीरूपमा छ महिनाका लागि भनेर लामेआहालमा  विसर्जन गर्दै आएको छ । महानगरले पोखरा–३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update