Odapalika - The Fourth Estate - चौथो अंग
सफा धनगढी अभियानः ६ महिनामै जोडिए २२ हजार नागरिक 

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा २२ हजार भन्दा वढी जनसमुदायले सहभागिता जनाएका छन् । 

गत कात्तिकबाट सुरु भएको सफा धनगढी अभियानमा हरेक दिन जनसहभागिता बढिरहेको उपमहानगरपालिकाले जनाएको छ ।  उपमहानगरपालिका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष तथा सदस्यहरू प्रत्येक विद्यालय र समुदायमा पुगेर नागरिकलाई सरसफाईका लागि प्रेरित गरिरहेका छन् । 

अभियान अन्तर्गत हरेक वडामा साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम सञ्चालन हुनछ भने नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरू वडाबासीहरूलाई फोहरमैलाको वर्गीकरण गर्ने लगायतका विषयमा सिकाइरहेका छन् । 

सरसफाई सहजकर्ता सुरेन्द्र शाहले विद्यालय र टोलवस्तीमा सघन रुपमा सरसफाई अभियान सञ्चालन भइरहेको बताए । उनले भने, ‘हरेक महिना प्रत्येक वडामा सरसफाइ सप्ताह सञ्चालन भइरहेको छ । उनले “हाम्रो धनगढी, सफा धनगढी” अभियान अन्तर्गत प्रत्येक वडामा वडा र टोल समिति समेत गठन गरिएको बताए ।

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सुरु भएयता विद्यालय र समुदायमा ५०८ पटक सरसफाइ कार्यक्रम र अभिमुखीकरण कार्यक्रम भएको उपमहानगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ ।

अहिलेसम्म नगरमा रहेका निजि विद्यालयमा ११३ पटक सरसफाइ र अभिमुखीकरण कार्यक्रम भइसकेको छ भने ६४ पटक सामुदायिक विद्यालयमा कार्यक्रम गरिएको छ ।

प्रत्येक विद्यालयमा अभियानको लागि पुग्ने गरेका नगर प्रमुख हमालले विद्यार्थीलाई सजिलो भाषाशैलीमा उत्प्रेरित गरिरहेका छन् । ‘विद्यालय उमेरका प्रत्येक बालबालिकालाई विद्यालय, परिवार र समुदायमा असल अभ्यास गर्न प्रेरित गरेर बालबालिका साच्चै नै सरसफाई अभियानका वास्तविक सहजकर्ता हुन भन्ने सन्देश पनि दिन खोजेका छौँ,’ हमाल भन्छन् । 

सरसफाई अभियानका क्रममा अहिले नगरका सबै १९ वडामा वडा स्तरीय सरसफाइ समिति गठन भइसकेको छ । ३०० बढी टोल समिति गठन भएका छन् । हमालका अनुसार वडा तथा टोल समितिले हरेक महिना सरसफाइ सप्ताह सञ्चालन गरिरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update