Odapalika - The Fourth Estate - चौथो अंग
पशुपालकलाई पैयुँ गाउँपालिकाको प्रोत्साहन, राँगा पाल्ने कृषकलाई २० हजार अनुदान 

काठमाडौँ । पर्वतको पैयुँ गाउँपालिकाले राँगा पाल्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै राँगा पाल्ने किसानलाई अनुदान लिनका लागि निवेदन दिन आग्रह गरेको हो । 

पालिकाले राँगा पालेका प्रत्येक कृषकहरूका लागि २० हजार रुपैयाँ अनुदान दिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. राजीव रिमालले व्यावसायिक रूपमा राँगो पाल्दै आएका कृषकको सम्मान गर्न र अरूलाई प्रेरित गर्न गाउँपालिकाको १३औँ सभाले सर्वसम्मत निर्णय गरेको जानकारी दिए । 

उनका अनुसार पालिकाका ७ वटा वडाका किसानलाई समेटेर चालू आर्थिक वर्षमा २० जना किसानलाई अनुदान दिने निर्णय भएको बताए । ‘हामीले सूचना आह्वान गरेका छौँ । हाम्रो योजना २० वटा राँगाका लागि मात्र अनुदान दिन्छाँै । २० भन्दा बढीका लागि आवेदन पर्याे भने वडाको सिफारिसका आधारमा थप निर्णय हुनेछ’, उनले भने । 

उनले गाउँपालिकाले यस पटक २० वटा राँगाका लागि ४ लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको बताए । भैँसीपालक कृषकले फोन गरेको बेलामा रातिको समयमा समेत बोलाइएकै समयमा पुग्नुपर्ने र जस्तो मौसम र बाटो भएपनि पुग्नुपर्ने भएकाले पनि राँगो पालन दुःखको पेसा भएको कृषक ताराप्रसाद भुर्तेलले बताए । 

राँगाको शारीरिक र मानसिक विकास राम्रो भएमा मात्रै राम्रो बानी व्यवहार भएका पाडा पाडी जन्मिने भएकाले राँगोलाई उचित वातावरणमा पालेर व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

पूर्ण खोपयुक्त पालिका घोषणा 

सोमबार पैयूँ गाउँपालिका पूर्ण खोपयुक्त पालिकाको रुपमा घोषणा भएको छ । पर्वत जिल्लाकै पहिलो पालिकाका रुपमा पैयूँले पूर्ण खोपयुक्त पालिका घोषणा गरेको हो ।

पालिकाका ७ वटै वडामा जन्मदेखि ५९ महिनासम्मका बालबालिकाले सरकारी दिने खोप पूर्ण रुपमा लगाएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update