Odapalika - The Fourth Estate - चौथो अंग
टेम्केमैयुङ गाउपालिकामा लागु भयो स्थानीय पाठ्यपुस्तक 

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक लागु गरेको छ । दुई वषअगाडि नै स्थानीय आवश्यकतामा आधारित स्थानीय पाठ्यक्रम विकास गरी लागु गरेको टेम्केमैयुङ गाउँपालिकाले सोही पाठ्यक्रमका आधारमा तयार पारिएको ‘हाम्रो टेम्केमैयुङ’ नामक स्थानीय पाठ्यपुस्तक यसै शैक्षिक सत्रको आरम्भदेखि लागु गरेको हो । 

स्थानीय पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म लागु गरिएको छ । आफ्नो भूगोल, परिवेश, पर्यटन, कृषि, भाषा, संस्कार–संस्कृति, रैथाने सिप, कला र प्रविधिलगायतका बारेमा गाउँपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ज्ञान प्रदान गरी विद्यार्थीको मनमा आफ्नोपनको माया जागृत गराई आफ्नै ठाउँमा संभावनाको खोजी गर्ने योग्य नागरिक बनाउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार गराई पठनपाठन सुरु गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

 अध्यक्ष बस्नेतले भने, ‘बजेटको सीमितताका यसपालि कक्षा १ देखि ३ सम्म मात्रै स्थानीय पाठ्यपुस्तक तयार पारी लागु गरिएको छ । बाँकी कक्षा ४ देखि ८ सम्म यसै वर्ष पाठ्यपुस्तक तयार पारी आगामी शैक्षिक सत्रदेखि लागु गरिने योजना रहेको छ ।’

Hamro-Temkemaiyung_2-1715065729.JPG

टेम्केमैयुङ गाउँपालिको ‘हाम्रो टेम्केमैयुङ’ नामक पाठ्यपुस्तक सभ्यता अन्वेषण केन्द्र, काठमाडौँको परामर्श सेवा तथा उक्त केन्द्रमा आबद्ध पाठ्यपुस्तक लेखकहरू जिचेन स्याङ्तान, प्रकाश खड्का, मिमबहादुर परियार र कविता राईको लेखनमा तयार भएको हो । पाठ्यपुस्तकको सम्पादन प्रा.डा. प्रेमकुमार खत्री र प्राज्ञ शशी लुमुम्बूले गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update