Odapalika - The Fourth Estate - चौथो अंग
विकास हेर्न लहान नगरपालिका जानू, योजना बनाउन महेशसँग सिक्नू 

काठमाडौँ । सिरहाको लहान नगरपालिकास्थित लहान बजारबाट ४ किलोमिटर पश्चिममा छ राजा सहलेसको फूलवारी । फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ । यहाँ एउटा रुख छ सहलेस । जो बर्षको एकचोटि (वैशाख १ गते) मात्र फुल्छ । 

यो फूल हेर्न नेपाल र भारतका जति मानिस लहान पुग्छन्, त्यतिकै उत्सुक बनाउने गरी काम गरिरहेका छन् लहान नगरपालिकाका जनप्रतिनिधि । 

पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान २०३३ सालदेखि नगरपालिकाका रुपमा छ । तर यहाँका जनताले पूर्वाधार र सामाजिक विकासको अनुभूति गर्न भने स्थानीय तहका जनप्रतिनिधि नै कुर्नुपर्यो । 

स्थानीयको आशा जगाउने अभियानमा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीसहितको टीम यतिवेला कम्मर कसेर लागेको छ । मेयर चौधरीको सक्रियतामा पछिल्ला दिन लहानले गरेको प्रगति लोभलाग्दो मात्र छैन, अनुकरण योग्य पनि छ । यो आलेखमा लहान नगरपालिकाका जनप्रतिनिधिले गरेका असल अभ्यासका बारे चर्चा गर्दैछौँ । 

मुसहर समुदायलाई किरिया खर्चदेखि घरसम्म

नगरपालिकाले मुसहर समुदायको घरमा जस्तापाता राख्न अनुदान दिनेदेखि लिएर नयाँ घर बनाउनेसम्मका काम गर्दै आएको छ । मुसहर समुदायको सामाजिक स्तर उकास्ने अभियानमा जुटेका मेयर चौधरी यो समुदाय शोकमा पर्दा पालिकाले साथ दिने गरेको बताउँछन् । 

घरसमेत बनाउन नसक्ने मुसहर समुदाय शोकमा पर्दा नगरपालिकाले एकमुष्ट ५ हजार रुपैयाँ किरियाखर्च उपलब्ध गराउँदै आएको छ । 

लहान नगरपालिकाको प्रमुखमा चौधरी निर्वाचित भएपछि उनले वडा नम्बर १२ र १५ का ५० वटा मुसहर समुदायको घर निर्माण गरिसकेका छन् । प्रति घर ५ लाख रुपैयाँको लगानीमा उनले ५० परिवारको घर निर्माण गरिदिएका हुन् । उक्त घरमा बरण्डासहितको दुई कोठा घर र शौचालय छ । 

पालिकाले वडा नं. २०, २२ र १४ का ४७ मुसहर, गरीब, विपन्न परिवारलाई ४५ हजारको दरले घरमा जस्तापाता लगाउन रकम हस्तान्तरण गरिसकेको छ । 

गर्भवतीलाई पोषण खाद्यान्न वितरण

पालिकाले हरेक महिनाको २२ गते गर्भवती महिलाहरुलाई खाद्यान्न वितरण गर्दै आएको छ । पालिका प्रमुख चौधरीको नेतृत्वमा १० किलो चामल, २ पोकाका दरले चना, मटर र चिनी, एक पोका नुन, १ लिटर तेल र १ किलो दाल वितरण गरिने गरिएको छ ।  

गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको मेयर चौधरी बताउँछन् । 

health-1715084006.jpg

जन्मिने नवजात शिशु स्वास्थ्य रहोस् भनेर यो कार्यक्रम लागू गरिएको उनले बताए । ‘गर्भवती तथा सुत्केरी अवस्थामा साविकभन्दा बढी पोषिलो खाना र सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ’, उनले भने, ‘पोषिलो खाना र सरसफाइमा गर्भवती तथा घरपरिवारका महिलाको ध्यान पुगोस् भनेर पोषिलो खाद्यान्न वितरण गरिएको हो ।’

सहजरूपले आयआर्जन गर्न नसकेका गर्भवतीका लागि केही हदसम्म भए पनि राहत मिलेको नगरप्रमुख चौधरीले बताए । सधैँ आश्वासन मात्र बोकेर आउने जनप्रतिनिधि यसरी पोषिलो खानेकुरा लिएर आएकामा स्थानीय गर्भवतीको मुहार खुसी देख्दा आफु सन्तुष्ट हुने गरेको चौधरी बताउँछन् । 

महिलालाई आत्मनिर्भर बनाउन अनुदानदेखि तालिमसम्म 

पालिकाले महिलालाई आत्मनिर्भर बनाउन बिउँ पुँजी अनुदानदेखि जुत्ता बनाउनेसम्मको तालिम दिएको छ । प्रमुख चौधरीले महिला समूह सहकारीका २४ जना महिलालाई २५ हजार रुपैयाँका दरले व्यवसाय गर्न बिउँ पुँजी सहयोग गरिरहेको छ । 

महिलाहरुलाई स्वरोजगार बनाउन गुडिया बनाउने सीपमूलक तालिम दिएको पालिकाले ४० जना महिलाहरुलाई आयआर्जनमा जोड्न चप्पल, जुत्ता बनाउने तालिम दिएको बताए । 

mechine-1715084065.jpg

उक्त तालिम पाएका अधिकांश महिला अहिले आफै स्वरोजगार बनेका छन् भने केही बन्ने तयारीमा रहेको उनको भनाइ छ । 

यस्तै, पालिकाले लैँगिक हिंसा कोष सञ्चालन गरी १० जना हिंसा पीडित प्रभावित महिलालाई १० हजार रुपैयाँका दरले छात्रवृत्ति सहयोग गरेको छ भने १० जना एकल महिलालाई आयआर्जन गर्न ब्राखा सहयोग गरेको छ । ५ वटा समूहमा उन्नतजातको बोका वितरण समेत गरेको मेयर चौधरी बताउँछन् ।  

बालविकास शिक्षकलाई ८ हजार थप्छ पालिका 

न्यून सेवा सुविधामा बालविकास शिक्षकमा कार्यरत कर्मचारीको ८ हजार रुपैयाँसम्म नगरपालिकाले तलव थपेर वितरण गर्छ । पालिकाले व्यर्हाेने गरी विद्यालयका कर्मचारी, कार्यालय सहयोगी, लेखापाल तथा बालविकास शिक्षकको तलब बढाएर १७ हजार रुपैयाँसम्म बनाएको चौधर िबताउँछन् ।  

डेढ करोड लगानीमा स्वास्थ्य चौकी स्थापना

लहान नगरपालिकाको वडा नम्बर ६, ११ र १६ मा पालिकाले आफ्नै लगानीमा स्वास्थ्य चौकी स्थापना गरेर सञ्चालन गर्दै आएको छ । 

अन्य वडामा स्वास्थ्य चौकी भएपनि उक्त वडामा नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको भन्दै मेयर चौधरीको नेतृत्वमा स्वास्थ्य चौकी सञ्चालन गरिएको हो ।  स्वास्थ्य चौकीको भौतिक संरचना निर्माणदेखि आवश्यक उपकरण खरिद तथा सेवा प्रवाहका लागि डेढ करोड रुपैयाँ खर्च गरिएको उनको भनाई छ । 

हाल उक्त स्वास्थ्य चौकीमा एक जना स्टार्फ नर्स, एक जना अहेव तथा कार्यालय सहयोगी सेवा दिदै आएका छन् । 

पालिकाले वडा नम्बर १६, १० र १९ मा बर्थिङ सेन्टर समेत सञ्चालनमा ल्याएको छ । नर्मल डेलिभरीका लागि समेत अस्पताल जानुपर्ने बाध्यताको अन्त्य गर्न उक्त वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । 

बर्थिङ सेन्टरबाट हाल एक जना सिनियर अहेव, एक जना स्टार्फ नर्स, २ जना अनमी तथा कार्यालय सहयोगीले सेवा प्रवाह गर्ने गरेका छन् । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि वडाका स्थानीयलाई नर्मल डेलिभरीका लागि अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

१० देखि १०० रुपैयाँमा रगत परीक्षण

अहिले सुगरको परीक्षण गर्न निजी ल्याव तथा क्लिनिकमा ५०० रुपैयाँभन्दा बढी शुल्क लाग्ने गरेको छ । सामान्य भन्दा सामान्य परीक्षणका लागि ठूलो रकम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै लहान नगरपालिकाले १० रुपैयाँमै सुगर परीक्षणको व्यवस्था गरेको छ । 

पालिकाको वडा नम्बर १० मा सुविधा सम्पन्न स्वास्थ्य ल्याब सञ्चालन गरेर पालिकाले स्थानीयलाई सहज रुपमै स्वास्थ्य सेवा प्रदान गरेको हो । उक्त ल्याबमा १० रुपैयाँदेखि १ सय रुपैयाँसम्ममा सबै किसिमका रगतको परीक्षण गर्न सकिन्छ । 

आँपको ब्राण्डिङ गरेर काठमाडौँमा बिक्री

लहानको आप भन्दै अन्य व्यवसायी तथा व्यापारीले बिक्री गर्दै आएकोमा पालिका आफैले लगानी गरेर आँपको ब्राण्डिङ सुरु गरेको छ । लहानको आँप भन्दै अन्य क्षेत्रको आप बिक्री तथा एउटा भनेर अर्काे प्रजातिको बिक्री वितरणको अन्त्य गर्दै पालिकाले आफैले लहानको आँपको ब्राण्डिङ गरेको हो । 

पालिकाले आँपको ब्राण्डीङसँगै पालिकाकै लगानीमा काठमाडौँसम्म ढुवानी गरेर बिक्री गर्दै आएको छ । 

यसअघि बगैचाबाट २० देखि २५ रुपैयाँसम्म बिक्री हुने गरेको आँपलाई पालिकाको पहलमा ६० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको मेयर चौधरी बताउँछन् । यसबाट किसानले आँपको उचित मूल्य पाएका छन् भने पालिकाले ब्राण्डिङ गर्दा प्रचारसमेत भएको उनको बुझाइ छ । 

स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पनि अव्बल

मेयर चौधरीले एक आर्थिक वर्षभित्रै १५ किलोमिटर सडक आरसिसी पिसीसी ढलान सम्पन्न गरेको, विभिन्न वडामा १४१ ट्यूवेल र १८ डिप बोडिङ जडान गरिएको तथा विभिन्न वडामा विद्युतिकरणको लागि ४५० वटा पोल जडान भएको बताए । 

यस्तै, उनले पालिकाका स्थानीयका लागि निःशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालन गरेका छन् । घरदेखि अस्पताल जान र अस्पतालदेखि घरसम्म पुग्न निःशुल्क रुपमा एम्बुलेन्सको व्यवस्थापना गरिएको उनको भनाइ छ । 

kapada-1715084006.jpg

गरीब, जेहेन्दार, दलित ५९ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न १०/१० हजार छात्रवृत्ति सहयोग, असहाय र विपन्नलाइ कपडा वितरण, वैदेशिक रोजगारबाट फर्केका ४० जनालाई स्वदेशमा रोजगारीका लागि प्राप्त व्यक्ति ५०/५० हजार नगद रुपैयाँ बीउ पुँजीको रुपमा उपलब्ध र विद्यालयमै विद्यार्थी खाजाको समेत व्यवस्थापन भएको पालिकाको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update