Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँमा बिहानैदेखि वर्षा, कहिलेसम्म पर्छ पानी ? 

काठमाडौँ । भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसम प्रणालीमा परेको छ । 

जसका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा सुरु भएको छ । विभागका अनुसार गण्डकी प्रदेशको केही, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा बिहानैबाट जारी छ ।

भोलिसम्म काठमाडौंसहित देशका धेरै स्थानमा पानी परिरहने अवस्था रहेको विभागको भनाइ छ । 

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने विभागको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुद्या यसको असर कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा देखिने छ । 

पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update