Odapalika - The Fourth Estate - चौथो अंग
मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा 

काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । 

आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्छन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । 

पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । 

मेलाको अवसर पारेर नगरपालिकाले आज नगरभर सार्वजनकि बिदा दिने निर्णय गरेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गनेए गरेका छन् । 

मातातीर्थ कुण्ड परिसरमा मङ्गलबार साँझ बत्ती बालेर मातृभक्ति प्रकट गर्दै माताविहीन सन्तान भजनकीर्तन गरेर रातभर जागा बसेपछि आज यहाँ भव्य मेला लाग्ने गरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update