Odapalika - The Fourth Estate - चौथो अंग
ऐंसेलुखर्क गाउँपालिकामा आजबाट अध्यक्ष कप भलिबल

काठमाडौँ । ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐंसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला र पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता आजबाट सुरू हुँदैछ ।

वैशाख २६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 

प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ १५ वटा समूहले सहभागिता जनाएको आयोजक खेलकुद विकास समिति ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना प्राप्त दुवै विधाका स्थानीय तहले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी छन् ।

पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बु, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बु, चिसङ्खुगढी गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ सहभागी छन् । 

त्यसैगरी रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐंसेलुखर्क गाउँपालिका¬ ४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐंसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासङ्घको नियमअनुसार सञ्चालन हुने आयोजकले जनाएको छ । 

गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता गर्न लागिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update