Odapalika - The Fourth Estate - चौथो अंग
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले 

ललितपुर । ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन् । 

प्रधानमन्त्री कार्यालयबाट सरुवा भएकी उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मंगलबारदेखि सम्हालेकी हुन् । यसअघि वीरेन्द्रदेव भारती महानगरको प्रमुख प्रशासकीय अधिकृतमा थिए । भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएका छन् । 

ललितपुर महानगरले प्रमुख प्रशासकीय अधिकृत रेखा दासको स्वागत र भारतीको बिदाई गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र महानगरका अन्य कर्मचारी सहयोगी भएको बताए । 

उनले भने, ‘हामी मिलनसार छौं, तर्सिन पर्दैन, नहुने कुरा नल्याउनुहोस्, हुने कुरा ल्याउनुहोस् ।’ रेखादास ललितपुर महानगरको पहिलो प्रमुख प्रशासकीय अधिकृत भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘उहाँ स्मार्ट हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ, महानगरको विकास गर्न उहाँको कामले फलदायी रिजल्ट निकाल्छ ।’  

उप्रमुख मञ्जली शाक्य बज्राचार्यले संघीय तहमा काम गरेको अनुभवलाई स्थानीय तहमा प्रयोग गर्दा महानगरको विकासमा सहयोग पुग्ने बताइन् । कार्यान्वयनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका कर्मचारीको हुने भएको उनले बताइन् । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले कानुनले दिएको अधिकार प्रयोग गरी इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

farewell-1715160873.jpg

निर्वतमान प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले सेवाग्राहीलाई प्राथमिकतामा राखेर काम गरेको बताए । जहाँ काम गर्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राख्ने उनले बताए । 

कार्यक्रममा कानुन महाशाखामा प्रमुख खगेन्द्र वस्तीले निवर्तमान प्रमुख प्रशासकीय अधिकृतले सेवाग्राहीलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘उहाँका कारण कुनै पनि दिन फाइल अड्किएन, काम रोकिएन ।’ 

यसैबीच, भरतपुर महानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीज्यूलाई बुधबार स्वागत गरिएको छ ।ललितपुर महानगरपालिकाबाट सरुवा भई भरतपुर आएका भारतीलाई भरतपुर महानगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रमुख प्रशासकीय अधिकृत भारतीज्यूलाई ढाका टोपी लगाएर कार्यालयमा स्वागत गरिन् । जनप्रनिनिधि र कर्मचारीहरुले स्वागत गरेसँगै भारतीले महानगरपालिकामा बुधबारबाटै पद सम्हालेका छन् । 

कार्यक्रममा महानगर प्रमुख दाहालज्यूले प्रशासनिक काम र विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । प्रमुख दाहालले स्मार्ट भरतपुर निर्माणका लागि बाँकी रहेको कामलाई गहन ढङ्गबाट बढाउन अनुरोध पनि गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भारतीले स्थानीय तहमा धेरै बसाइँका क्रममा प्राप्त अनुभवलाई भरतपुरमा भरपुर उपयोग गर्ने बताए । महानगरपालिकाले लिएको लक्ष्यलाई अगाडि बढाउन दत्तचित्त भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।  

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update