Odapalika - The Fourth Estate - चौथो अंग
वाइ वाइ : नेपालको मात्रै होइन, विश्व बजारको लिडर बन्दै

काठमाडौँ । आइफोन बोक्नेहरु मोबाइलमा कभर सितिमिति राख्दैनन् । किनभने कभर राख्दा एप्पलको लोगो छोपिन्छ कि भन्ने चिन्ता हुन्छ प्रयोगकर्तामा । टोयोटा चढ्नेहरु टोयोटा चढेको भन्छन्, गाडी चढेको कुरा गर्दैनन् । किनभने गाडी चढ्नु र टोयोटाको गाडी चढ्नुमा फरक छ भन्ने ठान्छन् उनीहरु ।

विश्व ब्राण्ड एप्पल र टोयोटाको उत्पादन प्रयोग गर्ने नेपाली पनि धेरै छन् । नेपालीलाई पनि यी ब्राण्ड प्रयोग गर्दा गर्व महसुस हुन्छ । र, सँगै नेपालीले जुनसुकै बेलामा सजिलै भनिदिन्छन्– नेपालमा सियो त बन्दैन, किन ठूला कुरा गर्नु !

हो, नेपालमा धेरै बस्तुहरु आयात गरेर उपभोग गरिन्छ । विश्व बजारमा पुग्ने नेपाली उत्पादनको संख्या निकै कम छ । तर, एउटा यस्तो नेपाली उत्पादन पनि छ, जो विश्व बजारमा जबरजस्त उपस्थित भइरहेको छ ।

त्यो ब्राण्डको नाम हो– वाइ वाइ ।

wai-wai4-1715163116.jpg
नेपालको व्यवसायिक घरना चौधरी ग्रुपले उत्पादन गरेको वाइ वाइ चाउचाउ अहिले संसारका ४० भन्दा बढी देश र ५ महादेश पुगिसकेको छ । र, संसारभर फैलिएको बहुराष्ट्रिय उत्पादन वाइ वाइले जुनजुन देशमा कारखाना खोलेको छ, आफ्नो कारखानामा नेपालको झण्डा पनि फहराइरहेको छ । अर्थात, वाइ वाइले विश्वमञ्चमा नेपाली उत्पादन र नेपाली झण्डा सँगै लिएर गएको छ । 

वाइ वाइको उत्पत्ति

नेपालमा चौधरी ग्रुपले सन् १९८४ मा ब्राउन चाउचाउ उत्पादन थालेको थियो । ललितपुरको भैसेपाटीमा कारखाना स्थापना गरी वाइ वाइ उत्पादन सुरु भएको हो । त्यसको करिब एक दशकपछि अर्थात सन् १९९३ मा अत्याधुनिक प्रविधिबाट वाइ वाइको उत्पादन सुरु भयो ।

वाइ वाइको विदेशयात्रा

नेपाली उत्पादन वाइ वाइको विदेशयात्रा भने लामो भएको छैन । सन् २००६ मा वाइ वाइले भारतको सिक्किमबाट विदेशयात्रा थालेको हो । सो समयमा चौधरी ग्रुपले भारतको सिक्किममा सिजी फुड्स इन्डिया प्रालि स्थापना गरी वाइ वाइ उत्पादन थालेको थियो ।

wai-wai3-1715163111.jpg
वाइ वाइले आफ्नो पहिलो विदेशयात्राको करिब एक दशक भारतमा वितायो । सन् २०१५ सम्म वाइ वाइ भारतका विभिन्न प्रान्तहरुमा विस्तार भयो । जस्तो कि सन् २००८ मा उत्तराखण्डमा, सन् २००९ मा आसाममा, सन् २०१४ मा आन्द्र प्रदेशमा र सन् २०१५ मा विहारमा वाइ वाइको फ्याक्ट्री स्थापना भयो । यही बीचमा अर्थात सन् २०१३ मा भारतको आसाममा अर्काे फ्याक्ट्री विस्तार भयो भने सन् २०१५ मा नेपालको बर्दियामा नयाँ फ्याक्ट्री स्थापना भयो ।

wai-wai5-1715163118.jpg
सन् २०१६ देखि वाइ वाइको यात्रा युरोप पुग्यो । वाइ वाइले सन् २०१६ मा युरोपेली देश सर्वियामा फ्याक्ट्री स्थापना गरी उत्पादन सुरु गर्यो । सन् २०१८ देखि भने दक्षिण एसियाको बंगलादेश र मध्यएसियामा पर्ने देश काजकास्तानमा फ्याक्ट्री स्थापना गरी उत्पादन सुरु गरियो । सन् २०१९ मा भारतको राजस्थानमा नयाँ फ्याक्ट्री सुरु गरियो भने सन् २०२० मा अफ्रिकी देश इजिप्टमा फ्याक्ट्री स्थापना भयो ।

मिसन २०२८

वाइ वाइले मिसन २०२८ बनाएको छ । विश्व बजारमा जवरजस्त उपस्थिति बनाएको सिजी फुड्सको लोकप्रिय उत्पादन वाइ वाइ विश्व बजारमा आफ्नो वलियो उपस्थिति र नेपाली उत्पादनलाई संसार देखाउन नयाँ मिसनका साथ उपस्थित भएको हो ।

wai-wai1-1715163109.jpg
सिजी फुड्सले दिएको जानकारी अनुसार सन् २०२८ सम्म वाइ वाइले विश्व चाउचाउ बजारको ४ प्रतिशत बजार हिस्सा ओघट्नेछ । यसका लागि सिजी फुड्सले वार्षिक ५ अर्ब प्याकेट चाउचाउ उत्पादन गर्नेछ । 

यस्तै, चाउचाउको बजार सम्भावना अधिक भएका ९ वटा विभिन्न देशमा वाइ वाइ चाउचाउको कारखाना स्थापना हुनेछ भने भारतीय बजारमा ३५ प्रतिशत हिस्सा वाइ वाइ चाउचाउको हुनेछ । अहिले भारतमा वाइ वाइ चाउचाउको बजार हिस्सा २७ प्रतिशतको हाराहारीमा रहेको बताइएको छ । र, विश्व बजारमा वाइ वाइको विक्री वार्षिक २० प्रतिशतका दरले बढिरहेको छ ।

स्वादमात्रै होइन, अब सेयर पनि दिदै वाइ वाइ

वाइ वाइ चाउचाउ नेपालीको जिव्रोमा झुण्डिएको चाउचाउ हो । यसको स्वादसँग अपरिचित नेपाली सम्भवतः छैनन् । वाइ वाइ चाउचाउ उत्पादन गरिरहेको सिजी फुड्स अब भने नेपालीलाई स्वादमात्रै होइन, सेयर पनि दिने तयारीमा लागेको छ ।

wai-wai2-1715163120.jpg
यसको जानकारी चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले दिएका हुन् । उनले बैशाख ३ गते समाजिक संजाल एक्स (पहिलाको ट्विटर) मा लेख्दै सिजी फुड्सले आइपिओ जारी गर्ने जानकारी दिए ।

nirvana-chaudhari1701931747.jpg
‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं । यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं,’ चौधरीले लेखेका छन् ।

विश्व बजारमा लोकप्रियताको शिखरमा पुगिरहेको वाइ वाइको सेयर प्रिमियम मूल्यमा आउने हो कि कसरी आउने हो भन्ने यकिन भएको छैन । तर, आइपिओ जारी गरेमा वाइ वाइ चाउचाउका सेयरधनी अब आम नेपाली पनि हुनेछन् र वाइ वाइले गरेको कमाइ लाभांशका रुपमा साधारण सेयरधनीले पनि पाउने छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update