Odapalika - The Fourth Estate - चौथो अंग
खोला किनारमा बनेका संरचना हटाउँदै इटहरी उपमहानगर

काठमाडौँ । इटहरी उपमहानगरपालिकाले खोला किनारमा बनेका भवन संरचना हटाउने भएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै खेति खोलाको क्षेत्राधिकारभित्रको जग्गामा बनेका संरचना हटाउने जनाएको हो । 

‘इटहरी उपमहानगरपालिका स्थित खेति खोलाको क्षेत्राधिकार भित्रको जग्गाको दुवै किनारा (साइड) बाट ६÷६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने कानूनी व्यवस्था रहेको छ । यस्तो कानूनी व्यवस्था अनुसार भवन संरचना निर्माण गर्नु पर्नेमा कानूनको उक्त व्यवस्थालाई पालना नगरी अनधिकृत रुपमा निर्माण भएका भवन संरचनाले उक्त खोला वरिपरिको सार्वजनिक जग्गा अतिक्रमण हुँदा यस क्षेत्रका बासिन्दाहरुलाई मात्रै नभएर समग्र इटहरी उप–महानगरपालिकालाई नै गम्भीर असर परेको छ’ पालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

उपमहानगरपालिकाले ३५ दिनभित्र उक्त स्थानमा बनेका संरचना हटाउनुपर्ने भन्दै नहटाए आफैलै हटाउने जनाएको छ । 

पालिकाले खोलालाई व्यवस्थित गर्नुको साथै करिडोर निर्माण गरी इटहरीको सुन्दरतालाई थप अभिवृद्धि गर्ने उद्देश्य रहेको समेत जनाएको छ । 

तोकिएको समयभित्र उक्त संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ र दफा ३९, भवन निर्माण सम्बन्धी ऐन, २०७५ को दफा १ र दफा १३ र पालिकाको कार्यपालिकाको निर्णय तथा अन्य भवन संरचना निर्माण सम्बन्धी प्रचलित कानून अनुरुप आफैले हटाउने जनाएको छ । 

पालिका आफैले त्यस्ता भवन संरचना भत्काउने भन्दै त्यस्ता भवन÷ संरचना भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति÷ संस्थाबाट नै असुल उपर गर्ने समेत सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update