Odapalika - The Fourth Estate - चौथो अंग
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर र उपमेयरलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ मा कार्यविभाजन र कार्य सम्पादनको व्यवस्था छ । जसमा मेयर वा अध्यक्षको अनुपस्थितिमा उपमेयर वा उपाध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतमा काम गर्ने व्यवस्था छ । यस्तै, ऐनको दफा १८ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जहाँ कार्यपालिका बैठकले आफूलाई प्राप्त अधिकार जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई प्रत्यायोजन गर्ने सक्ने व्यवस्था छ । तर, मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा उनीहरुले गर्दै आएको काम कसले गर्ने भन्ने व्यवस्था सो ऐनले व्यवस्था गरेको छैन ।

सो नगरपालिकाका मेयर र उपमेयर दुबै जनामाथि एकसाथ भ्रष्टाचारको मुद्दा लागेको छ । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि मेयर र उपमेयर एकसाथ निलम्बनमा परेका छन् ।

मेयर र उपमेयर दुबै जना एकैपटक निलम्बनमा परेपछि स्थानीय सरकार कसले चलाउने ? जलेश्वर नगरपालिकामा यो प्रश्न अहिले जटिल प्रश्नको रुपमा खडा भएको छ । किनभने मेयर मात्रै निलम्बनमा परेका भए उपमेयरले चलाउथे, उपमेयर निलम्बनमा परेका भए मेयर भइहाल्ने थिए ।

मेयर र उपमेयर एकैपटक निलम्बनमा परे भने नगरपालिका कसले चलाउने ? हामीले यो प्रश्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईलाई सोधेका छौं । उनले पनि मेयर र उपमेयर एकैपटक निलम्बनमा परे भने कसले स्थानीय सरकार चलाउने भन्ने स्पष्ट व्यवस्था नभएको बताए ।

‘कानुनी रुपमा हेर्दा प्रमुख र उपप्रमुख एकैपटक निलम्बनमा परे भने सरकार प्रमुखको रुपमा कसले काम गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । तर, संघ र प्रदेश सरकारमा कतिपय अवस्थामा एउटै पदीय हैसियतका पदाधिकारी भएको अवस्थामा जेष्ठताका आधारमा जिम्मेवारी तोक्ने भन्ने अभ्यास पनि छ,’ प्रवक्ता भट्टराईले वडापालिकासँग भने ।

उनले जलेश्वर नगरपालिकाको हकमा अब नगरपरिषद बस्ने र सो परिषदले आवश्यक निर्णय गर्ने बताए । परिषदले जेष्ठ वडाध्यक्षलाई कार्यवाहक सरकार प्रमुख तोकेर गाठो फुकाउन सक्ने जानकारी दिए । वा कसैले आफू सरकार प्रमुख हूँ भन्दै कानुनी रुपमा स्थापित गर्न कानुनी उपचार खोज्न सक्ने पनि उनले बताए । तर, जे गर्ने हो जलेश्वर नगरपालिकाको स्थानीय सरकारले नै गर्नुपर्ने र संघीय सरकारले केही गर्न नसक्ने उनको भनाइ छ ।

सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको ४ महिनाअघि सो नगरपालिकाबाट बलवा नगरपालिकामा सरुवा भएपछि पद खाली छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह अब कसरी अघि बढ्ने भन्ने विषयमा अन्योल रहेको बताउँछन् ।

‘प्रमुख र उपप्रमुख एकैपटक निलम्बनमा पर्नुभएको छ । अब कसरी अघि बढ्ने भन्ने अन्योल छ । बैशाख २९ गते शनिवार नगरकार्यपालिकाको बैठक बोलाएका छौं । सो बैठकले केही बाटो खुलाउँछ होला,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले वडापालिकासँग भने ।

आज अख्तियारले सो नगरपालिकाका मेयर, उपमेयर तथा तत्कालिन प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले बिहीबार महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

आयोगले नगरपालिकाका अधिकृत छैटौं धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव इन्जिनियर दिपेश कुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडा अध्यक्ष अनिल कुमार झा विरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ । 

उनीहरुमाथि नगरपालिकाको वडा नम्बर १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update