Odapalika - The Fourth Estate - चौथो अंग
तेस्रोपटक मुख्यमन्त्री बने हिक्मत कार्की, आजै मन्त्रिमण्डल विस्तार

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । 

बिहीवार कोशी प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकाछन् । कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश सभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी भएको थियो । 

सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै शपथग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल बिस्तार गर्ने बताएका छन् । 

प्रदेश प्रमुख खापुङले शुक्रवार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधवार राति आह्वान गरेका थिए । सोही बमोजिम नेकपा एमाले र माओवादीका ५२ सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

प्रदेश प्रमुख खापुङले ५२ जना कोशी प्रदेश सभा सदस्यको सनाखत भएकाले प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेको बताए ।

अब बनेको नयाँ गठबन्धनको सरकारलाई आगामी निर्वाचनसम्म नै डोहो¥याउने सत्ता समर्थक दल नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए ।

तर त्यसलाई चिर्न दुई दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेश सभामा राखेनन् । प्रदेश सभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो । 

कार्की यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

सर्वोच्च अदालतको परमादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिए । केन्द्रमा पुनः नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update