Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाको पहलमा मध्यबिन्दुका घरघरमा करेसाबारी

नवलपरासी । सुस्तापूर्वको मध्यविन्दु नगरपालिकाले ‘एक घर एक करेसाबारी’ नीति अघि सारेको छ ।
नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले जानकारी दिए । 
करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध हुनेछ । पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पु¥याउने उद्देश्यले यो नीति अघि सारिएको नगर प्रमुख अधिकारी बताउँछन् । 
‘नगरपालिका–१३ र १४ लगायतका पहाडी भेगमा कोदो, पिँडालु र आलुको पकेट क्षेत्र बनाउँछौँ । स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न पकेट क्षेत्र बनाउन लागेका हौं, अधिकारीले वडापालिकासँग भने ।
एक घर एक करेसाबारीको नीतिले खाद्य सुरक्षामा टेवा पु¥याउँदै नगरवासीको गरिबी निवारणको अस्त्रका रूपमा प्रयोग गर्ने तयारी नगरको छ । 
कृषिमा यान्त्रिकरण गर्दै निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि गर्न प्रोत्साहन गर्न कृषि पकेट तथा जोन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उनको भनाइ छ । 
‘एक वडा एक उत्पादन’ कार्यक्रमले सबै वडामा साना पकेट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरप्रमुख अधिकारीले जानकारी दिए । उनकाअनुुसार व्यावसायिक कृषि गर्न चाहने किसानलाई बीउबिजन तथा कृषि यान्त्रिकरणमा ५० प्रतिशत अनुदान पालिकाले उपलव्ध गराउने छ ।    
रासायनिक मलको जथाभावी प्रयोगलाई निरुत्साहित गर्दै जैविक मलयुक्त खेतीतर्फ किसानलाई आकर्षित गर्ने नीति पालिकाको छ । 
नगरभित्रका बीउबिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने किसान समूह तथा सहकारीलाई विशेष अनुदान तथा बजारीकरणको व्यवस्था गरिएको छ । 
नगरभित्रको जग्गालाई चक्लाबन्दी गरी खेतीयोग्य बाँझो जमिनमा फलफूल बगैँचा तथा अन्य उत्पादनमूलक कृषिकार्य प्रयोगमा ल्याउन नगरपालिकाले प्रोत्साहन गर्ने उनको भनाइ छ । नगरपालिकाभित्र कृषि स्वयंसेवक कार्यक्रम सञ्चालन गर्दै माथिल्ला सरकारसँगको सहकार्यमा कृषिबालीमा हुने नोक्सानीको क्षतिपूर्तिको व्यवस्थापन गरिने अधिकारीले बताए ।      
युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले कृषि फर्म स्थापना गरी कम्तीमा तीन बिघा भन्दा बढी क्षेत्रफलमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषि फर्मलाई प्रोत्साहन गरिने पालिकाको नीति छ । 
पालिकाले ‘एक घर एक एभोकाडो’ कार्यक्रमलाई परीक्षण कार्यक्रमको रूपमा पहिलो चरणमा नगरपालिकाले विभिन्न ५ वटा वडामा सञ्चालन गर्ने तयारी गरेको छ । 
‘मध्यविन्दु जाऔँ रैथाने खाना खाउँ’ भन्ने नाराका साथ नगरपालिकाभित्र उत्पादित रैथाने जातका धान (कनजिरा, मगरअनदी, झिनुवा, कालानमक) तथा जैविक उत्पादन जस्तै कोदो, बेसार, कागती, केरा, भूइँकटहर, उखु आदि उत्पादनलाई सहकारीमार्फत् उत्पादन प्रवद्र्धन गर्ने नीति लिएका छौं,’ नगरप्रमुख अधिकारीले भने । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update