Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र राति ९ बजेपछि मदिराजन्य पदार्थ विक्री तथा सेवन गर्न नपाइने भएको छ ।

नगरपालिकाले गत साउन ११ गते मदिराजन्य वस्तुको विक्री राति ९ बजेसम्म मात्रै गर्न दिने निर्णय गरेको थियो । नगरपालिकाको यस्तो निर्णयपछि होटल तथा रेष्टुरेन्ट र मदिरा विक्री गर्ने पसलहरु राति ९ बजेसम्ममा बन्द गरिसक्नु पर्ने भएको छ ।

मदिरा सेवन गरी हुलहुज्जत गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पार्ने काम भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाको भनाइ छ । नगरपालिकाले राति ९ बजेपछि मदिरा सेवन गर्न नमिल्ने स्थानसमेत तोकेको छ । सो निर्णयअनुसार परम्परागत आवाशीय क्षेत्र र सार्वजनिक महत्वका स्थानहरुमा राति ९ बजेपछि मदिरा विक्री तथा सेवन गर्न नपाइने भएको छ ।

निर्णय कार्यान्वनका लागि नगरपालिकाले सार्वजनिक सुचना पनि प्रकाशित गरेको छ ।

‘मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका कतिपय स्थानमा मदिराजन्य पदार्थ सेवन गरी झै–झगडा, हुल–हुज्जतलगायत अवान्चित गतिविधि गरी शान्ति सुव्यवस्थामा खलल वार्ने गतिविधिहरु हुने गरिएको देखिएकोले नगरको समग्र शान्ति सुरक्षाको व्यवस्था थप प्रभावकारी बनाउन आजका मितिदेखि यस नगरपालिका क्षेत्रका परम्परागत आवाशीय क्षेत्र र सार्वजनिक महत्वका स्थानहरुमा राति ९ बजेपछि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन गर्न रोकलगाइएको व्यहोरा जानकारी गराउँदै यस नगरपालिका क्षेत्रमा होटल तथा मदिराजन्य पदार्थको व्यापार गर्ने व्यवसायीहरुले राति ९ बजेसम्म मात्र व्यवसाय गर्नुहुन सम्पूर्ण उद्योगी, व्यवसायी र सर्वसाधारण जनसमुदायलाई नगरपालिकाको मिति २०८०–०४–११ को निर्णयानुसार अनुरोध गरिन्छ । सूचनाको बर्खिला कसैले क्रियाकलापहरु गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सुचित गरिन्छ,’ नगरपालिकाले सार्वजनिक गरेको सुचनामा भनिएको छ ।

कस्तो छ कार्यान्वयनको अवस्था ?

नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।

‘हामी (नगरपालिका) ले प्रभावकारी रुपमा अनुगमन गरिरहेका छौं, राति ९ बजेपछि मदिरा सेवन गर्न र बेच्न पाइदैन भनेका ठाउँमा सेवन गर्ने र विक्री गर्नेहरुलाई कानुन अनुसार कारवाही हुन्छ,’ नगरपालिकाको वडा नं. ३ का वडाध्यक्षसमेत रहेका प्रवक्ता आचार्यले वडापालिकासँग भने ।

उनले नगरपालिकाको निर्णय कार्यान्वयन गर्न गराउन जनस्तरबाट सहयोग पनि प्राप्त भइरहेको दाबी गरे ।

‘नगरपालिकाको निर्णय कार्यान्वयनमा जनताले पनि साथ दिएका छन् । तोकिएको ठाउँमा होटल तथा रेष्टुरेन्ट र पसलहरु राति ९ बजेपछि पनि खुल्लै रहे भने जनताले फोन गरेर पनि जानकारी दिइरहेका छन् । नगरपालिकाको निर्णय नमान्ने केही व्यक्तिहरुलाई बोलाएर हामीले सचेत गराउएर पठाउने गरेका छौं,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update