Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाही र रौतहटका २५ सरकारी स्कुललाई चाइना एड र यूएनडीपीको सहयोग, विद्यार्थीसँगै अभिभावक लाभान्वित

काठमाडौँ । चाइना एड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले मधेश प्रदेशका विद्यालय र समुदायलाई सहयोग गरेका छन् । 

महामारी रोकथाम र हरित प्रवर्द्धनका लागि विकट क्षेत्रका विद्यालय र समुदायलाई सहयोग गर्ने विशेष परियोजनामा चाइना एड र यूएनडीपीले सहकार्य गरेका हुन् । 

बिहीबार सर्लाहीको वरहथवा नगरपालिकामा यो कार्यक्रम अनावरण गरिएको छ । सर्लाही र रौतहटका २५ सरकारी स्कुललाई सहयोग गर्ने बताइएको छ । यसबाट १५ हजार विद्यार्थी र ७ हजार ५ सय परिवार लाभान्वित हुनेछन् । 

मधेश सरकारका भौतिकमन्त्री सरोज कुमार यादवले कार्यक्रममार्फत नयाँ परियोजना यस क्षेत्रमा ल्याएकामा आभार प्रकट गरेका थिए । यसले नेपालको विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। उनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) परियोजनाले नेपाल र अन्यत्र ठूलो योगदान गरेको बताए ।

उनले मधेशमा दुई मुख्य परियोजना स्वच्छ खानेपानी र उज्यालो गाउँको घोषणा समेत गरे । बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले यो सहयोगले स्थानीयलाई लाभ पुग्ने बताइन् ।

यूएनडीपी नेपालकी उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्डले शिक्षा र हरित प्रवर्द्धनमा गरिने लगानी जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न प्रभावकारी हुने र दिगो विकास लक्ष्य प्राप्तिमा समेत भूमिका खेल्ने बताइन् ।

पछिल्लो परियोजना चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले कार्यान्वयन गरेको हो । यसको अनुसन्धान वर्ल्ड एजुकेसनले गरेको थियो । 

सीएफआरडीका अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक वु पेङले आफ्नो संस्थाले ७ प्रदेशका ६० जिल्लामा सहयोग गरेको बताए । पछिल्लो सहयोगअनुसार विद्यालयमा डेस्क, टेबल र बुक ¥याकलगायत सामग्री सहयोग गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update