Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको ७ करोड ५३ लाख रुपैयाँ लगानीमा चमतीमा निर्माण भएको भवन तथा शालिकको आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन र अनावरण गरिन् । 

उपप्रमुख डङ्गोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका रुपमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताए ।

२०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी ४ आना जग्गा खरीद गरी २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिए ।

भूमिगत पार्किङसहित ६ वटा तला रहेको उक्त भवन ३ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ ।  कार्यक्रममा स्वर्गीय वडाअध्यक्ष रिजालको पूर्ण कदको शालिक निर्माण गर्ने मूर्तिकार महेश तुलाधरलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update