Odapalika - The Fourth Estate - चौथो अंग
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि !

काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरपालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम लगाएको छ । 

जनप्रतिनिधिका हकमा भने पालिका मौन छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । 

नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी पनि छ । 

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो ।  विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर  सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उनले बताए । 

वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिने र वडाको  जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत  मापदण्डका आधारमा बजेट दिइने उनको भनाइ छ । 

नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् । पालिकाको यो निर्णयपछि अब शिक्षक, कर्मचारीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update