Odapalika - The Fourth Estate - चौथो अंग
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति 

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ । 

नगरले बालविवाह मुक्त पालिका घोषणा गर्न रणनीतिक योजना निर्माण गरेर काम अघि वढाएको जनाएको छ । 

पालिकाले बालविवाह अन्त्यका लागि ३ वर्षमा गरिने कार्यको खाका तयार गरेको छ । प्रारम्भिक खाकाअनुसार रणनीतिक योजनालाई अन्तिम रूप दिइने र त्यसैअनुसार बालविवाह अन्त्यका लागि काम अघि बढाइने महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाहले जानकारी दिइन् । 

रणनीतिमा  बालबालिका, परिवार, समाजलाई बालविवाहविरुद्ध सचेत गराउन विभिन्न कार्यक्रम गर्ने, उल्लेख छ । त्यसैगरी  बालविवाह अन्त्यका लागि बनाउने, बालबालिकाको स्वेच्छिक विवाह रोक्नेलगायतका रणनीति पालिकालेअपनाउने छ । 

पालिकाको रणनीतिक योजनामा बालबालिकालाई सचेत गराउने कुरालाई प्राथमिकता दिइएको छ । बालविवाह अन्त्यका लागि १४ देखि २० वर्षमुनि उमेरका बालबालिकालाई बालविवाहसम्बन्धी कानुनी जानकारी, बालविवाहका असर, समुदायलाई पर्ने प्रभावबारे जानकारी दिइने भएको छ । बालविवाह अन्त्यका लागि विद्यार्थी नै अभियन्ताका रूपमा काम गर्नेछन् । 

यो अभियानमा नगरपालिकाले प्रहरी, शिक्षक, अभिभावक, बडघर, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतलाई परिचालन गर्ने जनाएको छ । 

नगरप्रमुख रामलाल डगौरा थारूका अनुसार २०८३ मङ्सिरभित्र बालविवाहमुक्त नगरपालिका बनाउने अभियानमा नगरपालिका सक्रिय भएर लागेको छ । 

नगरपालिकाले बालविवाह अन्त्यका लागि यसअघि ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रममार्फत छोरीको खातामा रकम जम्मा गरिदिने, सुत्केरी पोषण कोसेली कार्यक्रमजस्ता काम गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update