Odapalika - The Fourth Estate - चौथो अंग
समृद्धिको बाटोमा बडिगाडः आफ्नै ग्रिन हाइड्रोजन, आस जगाउँदै थ्रि जेरो क्लव 

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिकाले ३ दिन अघि ४ जना नयाँ कर्मचारी करारमा नियुक्त गर्यो । कर्मचारी भर्ना गर्नुको उद्धेश्य हो, किसान सूचिकरण । ३२ हजार हाराहारी नागरिक बस्ने यो गाउँपालिका कृषि उपज र उर्जामा आत्मनिर्भर बन्ने प्रयासमा लम्किैदै छ । तर स्वच्छ पिउने पानी उसलाई अझै अभाव छ । 

यहाँका जनतामा पानीको प्यास जति छ, केही गरौँ भन्ने हुटहुटी जनप्रतिनिधिमा झन वढी देखिन्छ । पछिल्ला दिन पालिकाको समग्र विकासका लागि पालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन बन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलसहितको जुझारु टिम पालिकाको समृद्धिका लागि कम्मर कसेर जुटेको छ । 

आज हामी वागलुङको बडिगाड गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्यदेखि उर्जाक्षेत्रसम्म कसरी फड्को मार्ने प्रयास गर्दैछ भन्ने विषयमा चिरफार गर्दैछौँ ।  

सुरु भयो ग्रिन हाइड्रोजन उत्पादन 

बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन थालेको छ । खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गरेर परीक्षणसमेत गरिसकेको छ ।  गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार वडा नं २ मा रहेको गिरिङ्दी खोला लघुजलविद्युत् आयोजनाबाट शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन सुरु भइसकेको छ । 

gandakimaya-1715514866.jpg

ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपाल इनर्जी फाउन्डेसन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्भोटेक युके, इन्भेस्टिन ग्रिनलगायत संस्थाहरुसँग पालिकाले सहकार्य गर्यो । जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि खेर गएको पानीलाई सदुपयोग गरी हाइड्रोजन उत्पादनको प्रक्रिया सुरु भएको अध्यक्ष अधिकारी बताउँछिन् । 

विश्व बजारमा नयाँ प्रविधिमार्फत उत्पादन गरिने ऊर्जाका रुपमा रहेको ग्रिन हाइड्रोजन खासगरी खाना पकाउनका लागि उपयोग हुने गर्छ । 

अब विभिन्न सङ्घसंस्थाहरुसँग सहकार्य गरेर गिरिङ्गी जलविद्युत आयोजनामा हाइड्रोजन प्लान्ट निर्माण गरिने पालिकाको योजना छ । सन् २०२४ भित्रै हाइड्रोजनको व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित काम अघि वढेको अध्यक्षको भनाइ छ । 

सुसरुमा गिरिङ्दी खोलाका उपभोक्तालाई चुल्हो र सिलिन्डर वितरण गरी यसको प्रयोगमा ल्याइने र सबैतिर विस्तार गर्ने योजना पालिकाको छ । 

उत्पादित हाइड्रोजनलाई सिलिन्डरमार्फत उपभोक्तालाई घरघरमा वितरण गरिने योजनामा पालिका जुटेको छ । हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ पालिकाले हाइड्रोजनद्वारा खाना पकाउने प्रविधिबारे सफल प्रदर्शन पनि गरिसकेको अध्यक्षको भनाइ छ ।

स्थानीयले देखेको नमूना अब केही समयपछि गाउँमै साकार हुँदैछ । पालिकाभित्र १५ वटा लघु जलविद्युत आयेजना छन् । यो परियोजना सफल भए सवै लघु जलविद्युत आयोजनाबाट ग्रिन हाइड्रोजन उत्पादन सम्भव हुने अनुसन्धानकर्ताले बताएपछि पालिकाका जनप्रतिनिधि पनि यतिबेला उत्साही छन् । 

यो अभियान सफल भए पलिकामा एलपी ग्यास पूर्णरुपमा विस्थापन गर्ने लक्ष्य पनि राखेको अध्यक्षको भनाइ छ । 

किसान कल सेन्टरसँगै सूचीकरण पनि  

पालिकाले कृषिको आधुनिकीकरणको प्रयासपनि सँगसँगै थालेको छ । किसान कल सेन्टर  स्थापना गरेर किसानको सूचिकरण गर्ने अभियानका लागि पालिकाले ३ दिनअघि मात्र ५ जना करारका कर्मचारी नियुक्र गरेर कृषक सूचिकरणको काम थालेको छ । जसअन्तरगत अब कृषकहरुको बैंक खाता खोल्ने, क्युआर कोड उपलव्ध गराउने, कृषक परिचयपत्र वितरण गर्नेलगायतका काम अघि बढेका छन् । 

aachar-1715514679.jpg

विषदीयुक्त तरकारी उत्पादन, कृषक फारामलाई सर्पोट गर्नेदेखि लिएर कृषि बीमा कार्यक्रमलाई समेत एकसाथ अघि वढाएको बताउँदै अध्यक्ष अधिकारीले पशु चौपायालाई रोगबाट जोगाउन खोप अभियानपनि एकसाथ अघि बढाइरहेको बताइन् । पालिकाले संघीय सरकारको ससर्त अनुदानमा बाख्रा पकेट कार्यक्रम अघि वढाउँदैछ भने महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम पनि दिइरहेको छ । 

बडिगाडका किबी काठमाडौँमा 

बडिगाडमा सबैभन्दा वढी उत्पादन आलुको हुन्छ । आलुसँगै किबीखेतीमा समेत यहाँका कृषक उत्साही भएर लागेका छन् । उत्पादित सामग्रीले बजार नपाएपछि पालिकाको पहलमा अहिले उत्पादित सामग्रीको बजार खोजिएको छ । 

पालिका अध्यक्ष अधिकारीका अनुसार रुपन्देही नगरपालिकासँगको समन्वयमा यहाँका कृषकले उत्पादन गरेको आलु रुपन्देहीसम्म लगेर बेच्ने गरिएको छ भने यहाँ उत्पादित किबी काठमाडौँको कालिमाटीमा विक्रीवितरण भइरहेको छ । 

यसका लागि पालिकाले सहजीकरण गरिदिन्छ ।  यहाँका कृषकले उत्पादन गरेको भाँगो (अचार खान प्रयोग हुने)समेत काठमाडौँका बजारसम्म लगेर बिक्री गर्ने गरेको अधिकारीको भनाइ छ । 

ढुवानी खर्चका कारण कृषकहरुले उत्पादन गरेको उपज विक्रीमा समस्या भएपछि पालिकाले वडा नम्बर ४ र ५ लाई जोड्न घिर्लिङबाट कृषि उपज ओसारपसारको अभियान पनि थालेको छ । 

२ वटा वडालाइ जाेड्नेयो घिर्लिङ बनाउने अभियान सुरु भइसकेको छ । यसले सार्थकता पाए कृषकहरुले कम्तीमा ३० किलोमिटरसम्म उत्पादित सामग्री डोकोमा बोकेर हिड्नुपर्ने अवस्थाको मात्र अन्त्य हुनेछैन, उत्पादित कृषि उपजको ढुवानी खर्चसमेत कटौती हुने अध्यक्ष अधिकारीको विश्वास छ । 

अचारदेखि चप्पलसम्म बन्छ पालिकामा 

उद्यमशीलता प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाभित्र महिलाहरुले अचार उद्योग स्थापना गरेका छन् । पालिकाको सहयोगमा महिलाहरुले बनाएको अचारसमेत छिमेकी जिल्लामा बिक्री हुन थालको छ । 

महिलाहरुले व्याग बनाउने, स्यानिटरी प्याड बनाउने, मुढा बुन्ने, दुना टपरी उद्योग चलाउनेजस्ता काम पालिकाकै सहयोगमा गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले वडा वडामा गएर दुना टपरी बनाउने तालिम दिने अभियान नै चलाइएको बताइन् । 

आफ्नै पाठ्यपुस्तक, वालविकासका शिक्षकलाई तलब थप

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्न पालिकाले शिक्षकहरुको क्षमता विकासका लागि विभिन्न तालिम दिने गरेको अध्यक्षको भनाइ छ । 

कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम बनाएको पालिकाले कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम पढाउन सुरु गरिसकेको छ । 

पालिकाभित्र रहेका ७२ वटा वालविकासका कक्षामध्ये दर्ता भएका ५५ वटामा पढाउने वालविकासका शिक्षकलार्इृसंघीय सरकारले दिएको ८ हजार रुपैयाँमा ७ हजार रुपैयाँ पालिकाको तर्फबाट थपेर तलब दिइरहेको पालिकोको भनाइ छ । 

यसका अतिरिक्त बालविकासका कक्षाहरुको भवन बनाउनेदेखि लिएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्न विविध कार्यक्रम संचालनसमेत गरिरहेको अध्यक्ष बताउँछिन् । 

teacher-1715514835.jpg

स्थानीय स्तरमै शिक्षक उत्पादन गर्न पालिकाले निःशुल्क रुपमा शिक्षा सेवा आयोगको कक्षा पनि संचालन गर्छ । जहाँ बडिगाड गाउँपालिकाभित्रका युवायुवतीलाई अवसर दिने गरिएको छ । पालिकाको सहयोगमा शिक्षा सेवा आयोग पढेकामध्ये १७ जनाले शिक्षा सेवा आयोग पास गरेर शिक्षण पेशामा सहभागी भएको अध्यक्ष अधिकारीले जानकारी दिइन् । 

प्रभावकारी बन्दै मोवाइल स्वास्थ्य कार्यक्रम 

बडिगाड गाउँपालिकामा १० वटा वडा छन् । पालिकाले यी सबै वडामा मोवाइल स्वास्थ्य कार्यक्रम लागु गरेको छ । यो कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीको टोली टोलटोलमा पुगेर ज्येष्ठ नागरिक, गर्भवती, वालवालिकालगायतको निःशुल्क स्वास्थ्य परीक्षण गर्छ । 

हरेक टोलमा महिनाको एकपटक स्वास्थ्य परीक्षणका लागि पुग्ने तालिका बनाएको पालिकाले विज्ञ चिकित्सक लगेर समेत स्वास्थ्य सेवा दिदै आएको छ ।  १९ जनासम्मको चिकित्सक टोली खटाएर यस वर्षमात्रै २ हजार ६०० जनाभन्दा वढीको स्वास्थ्य परीक्षण गर्नेदेखि निःशुल्क उपचार र औषधि वितरणसम्मको काम पालिकाले गरेको अध्यक्ष अधिकारीले सुनाइन् । 

जापान सरकारको अनुदानमा ल्याइएको क्षयरोग परीक्षण मेसिनको सहायताबाट गरिएको परीक्षणले गाउँपालिकामा ११७ जनामा क्षयरोग भएको पत्ता लाग्यो । ‘७ हजार जनाको परीक्षणमा यतिका धेरैमा क्षयरोग देखिएपछि हामीले थप स्वास्थ्य सतर्कता र उपचारको पहल गरिरहेका छौँ,’ अध्यक्ष अधिकारीले वडापालिकासँग भनिन् । 

434458766_860567302750980_2756957742762083877_n-1715514745.jpg

ज्येष्ठ नागरिकलाई लौरो र अपांगता भएका व्यक्तिलाई ह्वील चेयर वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेको पालिकाले बाल पोषणका कार्यक्रमलाई पनि प्रभावकारी रुपमा संचालन गरिरहेको छ । 

पालिकाभित्रै बर्थिङ सेन्टर भएपनि त्यहाँ सुत्केरी हुन नसकेका महिलालाई निःशुल्क रुपमा अस्पतालसम्म लगेर पालिकाकै पहल र खर्चमा उपचार गराइरहेको अध्यक्ष अधिकारीको भनाइ छ । पालिकाभित्रका २ हजार ६०० जनाभन्दा वढी एकल महिला, एकल पुरुष, विपन्नलगायतको निःशुल्क बीमा गरिदिएको पालिकाले अब स्थानीयलाई स्वच्छ र सर्वसुलभ खानेपानी उपलव्ध गराउने अभियानमा जुटेको छ । 

आयोजना छ, छैन पानी 

पालिकाभित्र कृषिको पर्याप्त सम्भावना भएपनि स्वच्छ खानेपानीको भने चरम अभाव भएको अध्यक्षको गुनासो छ । वडा नम्बर १? ३, ४, ७, ८ र ९ मा गरी ७ वटा खानेपानी आयोजना छन् । तर ५ वर्षदेखि ती सबै अलपत्र अवस्थामा छन् । 

संघीय आयोजना अन्तरगतका ती आयोजनाले न थप बजेट पाए, न पालिकासँग ती योजना निर्माण गर्ने रकम छ । जसका कारण यहाँका करिब ५०० घरधुरी भन्दा बाहेक स्वच्छ खानेपानीको पहुँचबाट टाडा छन् । संघीय आयोजना चाँडो बन्ने आशमा जनप्रतिनिधि र स्थानीयले ५ वर्ष बिताएपछि पार नलाग्ने देखेर आगामी वर्षबाट पालिकाले आफ्नै बजेटमा केही आयोजनाका काम अघि वढाउने सोच बनाएको अध्यक्ष अधिकारीको भनाइ छ । 

विद्यालयमा थ्रि जेरो क्लव 

बडिगाडका कक्षा ८ देखि १२ सम्म पढाउने सबै विद्यालयमा एउटा क्लव छ– थ्रि जेरो क्लब । 

यो क्लवले मूलत ३ वटा विषयलाई शुन्य बनाउने लक्ष्य राख्छ । पहिलो गरिवी, दोस्रो बेरोजगारी र तेस्रो कार्वन उत्सर्जनलाई शुन्यमा झार्ने लक्ष्यका साथ हरेक विद्यालयमा क्लव गठन गरिएको छ । 

यी क्लवले गरिवी बेरोजगारी र कार्वन उत्सर्जनलाई शुन्यमा झार्ने अभियानका साथ काम गर्छन् । 

सिक्दै कमाउँदै अभियानअन्तरगत विद्यालयका खाली जग्गामा फलफूलका विरुवा रोप्ने, कुखुरा, वाख्रा पाल्ने, तरकारी खेती गर्नेजस्ता काममा पालिकाले विद्यार्थी जोडेको छ । 

खरका छाना मुक्त, खाजा विषदीमुक्त 

पालिकाको पहलमा सबै घरहरु खरका छाना मुक्त बनिसकेका छन् । अध्यक्ष अधिकारीका अनुसार खरका छाना मुक्त गराउने अभियानमा पालिकाले हालसम्म २ करोड रुपैयाँ लगानी गरिसकेको छ ।   

हरेक विद्यालयमा करेसावारी हुनुपर्छ भन्ने मान्यता राखेपछि यहाँका वाल विकासका विद्यार्थीलाई आफैँले उत्पादन गरेका खाजा खुवाउने अभियान सुरु भएको छ । 

main-1715514797.jpg

विषदीमुक्त र स्थानीय उत्पादनमात्र खाजाका रुपमा खुवाउने अभियान थालेपछि यसको सकारात्मक प्रभाव देखिन थालेको अधिकारीको भनाइ छ । उनका अनुसार खानेपानीको अभाव टार्न पालिकाले हाल खानेपानीको चरम अभाव भएका ठाउँमा वोरिङमार्फत पानी वितरण पनि थालेको छ । वडा नम्बर ७ को खामाचौरबाट यो अभियानसमेत सुरु भइसकेको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update