Odapalika - The Fourth Estate - चौथो अंग
मधेशमा एमाले नेतृत्वमा सरकार ! उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी 

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले पनि बाहिरिएको छ ।  एमालेका मन्त्रीले राजिनामा दिएलगत्तै एमालेकै नेतृत्वमा सरकार गठनको कसरत सुरु भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न सन्देश पठाएको एक उच्च सूत्रले बताएको छ । उपप्रधानमन्त्री यादव जनता समाजवादी पार्टीका अध्यक्ष हुन् । उनकै दलका नेता सरोज यादव मधेश प्रदेशका मुख्यमन्त्री छन् ।

मधेशको सरकारबाट आफ्नो दलका तर्फबाट मन्त्री रहेका भरतकुमार साह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएलगत्तै उपप्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीले सन्देश पठाएको सूत्रले जानकारी दिएको छ ।

राजीनामा नबुझाए बर्खास्त गर्ने सन्देश प्रधानमन्त्रीले यादवलाई पठाइसकेको प्रधानमन्त्रीको निजी सचिवालय श्रोतको दाबी छ । 

माओवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर आजै सरकारबाट समर्थन फिर्ता लिएको छ । एमालेका तर्फबाट मन्त्री रहेका नेताले पनि  राजीनामा दिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update