Odapalika - The Fourth Estate - चौथो अंग
धुलिखेल नगरपालिका र जापानबीच सीप र प्रविधि आदानप्रदान सम्झौता 

काठमाडौँ  । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानको होक्काइडोस्थित सरोमा सिटीबीच सीप र प्रविधि आदान प्रदानसम्बन्धी सम्झौता भएको छ ।  

आइतवार भएको सम्झौतापत्रमा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू र सरोमा नगरप्रमुख हारुटोमो टोकेडाले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा सिटी प्रमुख टोकेडाले जापानमा १५ वर्षभन्दा कम उमेर समूहका १० प्रतिशत र ६५ वर्षमाथि उमेर समूहका नागरिकको संख्या ४० प्रतिशत रहेकाले मुलुकका लागि आवश्यक पर्ने युवा जनशक्ति कम हुँदै गएको बताए ।

उनले नेपालमा युवा धेरै र रोजगार क्षेत्र थोरै भएकाले दुई देशका दुई नगरको उल्टो तथ्याङ्कलाई सही रुपमा उपयोग गर्नेगरी आवश्यक युवा जनशक्तिलाई रोजगारका क्षेत्रमा कार्य गर्न सरोमा सिटी तयार रहेको पनि बताए ।

सो अवसरमा धुलिखेल नगरप्रमुख ब्याञ्जूले जापानको प्रविधि र सीपलाई धुलिखेलमा प्रयोग गर्ने गरी भएको सम्झौताले दुवै नगरका नागरिकलाई फाइदा पुग्ने बताए ।

उनले धुलिखेलबाट केही युवालाई कृषि क्षेत्रमा रोजगार एवं ज्ञान आदानप्रदान गर्न जापानस्थित राइनोकिनो कम्पनीमा पठाइएको बताउँदै उनीहरुले सिक्ने सीप र प्रविधि धुलिखेल आएर व्यवहारत लागू गर्दै अन्य नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा योगदान गर्ने आशा व्यक्त गरे ।

सो अवसरमा टोकेडाको टोलीमा नगरका कृषि तथा सहकारी विभागीय प्रमुख कुसिवे फुमिहारु, टप फार्मका अध्यक्ष इनोई नोबोरु तथा उपाध्यक्ष इनोई काजुकी, राइनोकिनो कम्पनी जापानका अध्यक्ष आकानुमा मसाकोलगायतको सहभागिता थियो । 

टोलीले धुलिखेल नगरमा सञ्चालित सीपमूलक जापानिज भाषाको कक्षा अवलोकन गरेको थियो ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update