Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको आकाश बिहानैबाट धुम्म, आज कहाँकहाँ पर्दैछ पानी ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जनाएको छ । उसले यो क्रम दिनभर रहनसक्ने भनेको छ । 

देशका पहाडी भू–भागका केही स्थान र तराईका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

भारतको बिहार आसपास बनेको मौसमको न्यूनचापीय प्रणालीको प्रभाव पर्दा पहाडी क्षेत्रमा पानी र तराइको मौसममा बदली आएको विभागको भनाइ छ । 

विभागका अनुसार बिहान सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने गण्डकी प्रदेशका थोरै स्थानमा, कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

विभागले राति कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । 

राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update