Odapalika - The Fourth Estate - चौथो अंग
सीपसँगै जीवनको रङ्गसँग जोडिदै काठमाडौँ महानगरका विद्यार्थी

काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा जीवनउपयोगी सिप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रम नतिजा भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । 

‘शिक्षामा सीप’  कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का ‘स्केचिङ् एण्ड स्कल्प्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिहरुको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिए ।

गत शुक्रबार सुरु भएको प्रदर्शनी आइतवार सकिएको छ । प्रदर्शनीको समापन अवसरमा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्,  ‘विद्यार्थीहरुले जे गर्नुभएको छ, त्यही नै उत्कृष्ट छ । म निपूर्ण भएपछि मात्र बाहिर आउँछु भनेर सोच्न थालियो भने सधैँ भित्रको भित्रै थुनिने हुन सक्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘विद्यार्थीहरुले रेखा कोर्न मात्र होइन, कलात्मक रेखा कोर्नुभएको छ । कोरिएका रेखाभित्र रङ्ग लगाउनु मात्र भएको छैन, कुन ठाउँमा कस्तो रङ्ग लगाउने भन्ने ज्ञानमा व्यवहार गर्न सक्ने हुनुभएको छ । यो हाम्रा लागि उत्कृष्ट नतिजा हो ।’ 

शिक्षा विभागले ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । 

प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६०० वटा मूर्ति राखिएका थिए । चित्रहरुमा जनजीवन, पेशा, प्रकृति, जमिन, जनावर, चराचुरुङ्गी र पोर्टेट चित्रहरु थिए । पोर्टेट चित्रमा महानगरपालिकाका प्रमुख शाह, साहित्यकार स्व. बालकृष्ण सम, खेलाडीहरुका चित्र थिए । 

मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । यस्तै बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिहरुमा विरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी पकाउने कराही, खाना पकाउने भाँडाहरु थिए । 

महानगरपालिकाको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीहरुको संख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् । 

यस्तै कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सिप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका छन् । यसरी राखिएका विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिम विद्यार्थीहरुले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा राखिएका थिए ।

यसमा विश्व निकेतम मा. वि., रत्नराज्य मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., गीतामाता मा. वि., कन्या मन्दिर मा. वि., सहिद शुक्र मा. वि., पद्मकन्या विद्याश्रम मा. वि., र कोटेश्वर सरस्वती मा. वि. गरी ९ वटा विद्यालयका कला समावेश थिए । यी ९ वटा विद्यालयका १९ समूहमा सिप सिकाइ कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update