Odapalika - The Fourth Estate - चौथो अंग
६ वटा प्रदेशमा दिनभर झरी 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको छ ।

हाल देशभर सामान्य देखि मौसम पूर्ण बदली छ । रातीदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहितगण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।  ।

शनिबार दिउँसो देशभर सामान्य देखि मौसम पूर्ण बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ । 

पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाको जिरीमा भएको छ । त्यहाँ १२१ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै, लुम्लेमा ४३ दशमलव ६, धरानमा ४१ दशमलव २, नेपालगञ्जमा ९ दशमलव ८, पोखरामा ३ दशमलव ४ र काठमाडौँमा २ दशमलव २ मिलमिटर वर्षा मापन भएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update