Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन् । 

९३ सदस्यीय प्रदेशसभामा सोमबारको बैठकमा उपस्थित ६२ जना सदस्यमध्ये उनको पक्षमा ५७ जनाले विश्वासको मत दिए । त्यस्तै, उनको विपक्षमा शून्य र तटस्थमा पाँच मत खसेको थियो । 

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए ।

कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)को ३, जसपाको १ जना सांसद गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । 

तर, आजको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । सरकार गठनको प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले विरोध गर्दै आएको छ । कार्की विरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । पेशी भने जेठ ९ गतेलाई तोकिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update