Odapalika - The Fourth Estate - चौथो अंग
मुगूम कार्मारोङका ६१ घरपरिवारले पाए भेडासहित भेडापालनका सामग्री

काठमाडौँ । मुगूम कार्मारोङ गाउँपालिकाका किसानले भेडा सहित आवश्यक सामग्री पाएका छन् । पालिकाको वडा नम्बर ९ का ६१ घरपरिवार भेडापालक किसानलाई जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयले उक्त सामग्री वितरण गरेको हो । 

पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले पालिकाको वडा नम्बर ९ का छायँयल, पापु र चिमाथ गाउँका ६१ परिवार किसानलाई भेडा र भेडापालनका सामाग्री उपलब्ध गराएको हो । 

किसानलाई भेडापालनमा प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले कार्यालयले अनुदानमा सामाग्रीहरु वितरण गरेको जनाएको छ । 

कार्यालयले भेडापालन गर्दै आएका किसानले प्रतिव्यक्ति एक–एक वटाका दरले भेडा, रेन्कोट, भेडाको ऊन कोर्ने काँगियो, कैँची, सादा पाल, सोलर, भ्याड, टर्च, सिलिपिङ ब्याग बितरण गरेको हो । 

कार्यालयका प्रमुख भीमचन्द्र बुढाले जिल्लामा व्यवसायिक भेडापालनको सम्भावना रहेकाले त्यसलाई बढावा दिनका लागि समेत अनुदानको कार्यक्रम राखिएको बताए । स्थानीयले प्रतिपरिवार ५० वटासम्म भेडा पाल्दै आएका छन् । 

तर उपकरण खरिद गर्न आवश्यक रकम नहुँदा उनीहरुले त्यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update