Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी 

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालयमा अनुपस्थित दर चिन्ताजनक देखिएको छ । 

उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीसंग गरिएको १६ दिने सर्वेक्षणले यहाँ शैक्षिक अवस्था कमजोर मात्र देखाएको छैन, विद्यालय भर्नामा लैंगिक विभेदसमेत देखाएको छ । 

सर्वेक्षणका अनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरतमध्ये ३६ दशमल ५ प्रतिशत विद्यार्थीहरु विद्यालयमा गयल हुने गरेको देखिएको छ । जबकी संस्थागत (निजी) विद्यालयमा यस्तो दर १४. ४४ प्रतिशत मात्र छ । 

उपमहानगरपालिकाको ५८ सामुदायिक र ४१ संस्थागत गरी ९९ विद्यालयमा अध्ययनरत १६ हजार ८५० विद्यार्थीसंग सर्वेक्षण गरिएको थियो । सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको छ । उपमहानगरपालिकामा ६१ वटा सामुदायिक र ४९ वटा निजी गरी ११० विद्यालय छन् ।

विट्स ल्याडर नामक संस्थाको प्राविधिक सहयोगमा भएकाे सर्वेक्षणको नतिजाअनुसार अभिभावकहरुले सरकारी भन्दा निजी विद्यालयमा छोरीलाई भर्ना गर्न कम रुचाउने पनि देखिएको छ । 

सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ । यसले उपमहानगर क्षेत्रका नागरिकहरु छोरीलाईसरकारी विद्यालयमै पढाउनुपर्छ भन्ने मान्यताबाट अझैपनि ग्रसित रहेको देखाउँछ । 

सर्वेक्षणमा सिमरा, बकुलिया र डुमरवाना कलेजका १५० जना स्नातक तहमा अध्यनरत विद्यार्थी खटिएका थिए । प्रतिवेदनले विद्यालयभन्दा सरकारको लगानी रहेको सामुदायिक विद्यालयको अवस्था झनै कमजोर देखाएको छ । सामुदायिक विद्यालयका ८ हजार १८७ र निजी विद्यालयका ८ हजार ६६३ विद्यार्थी सर्वेक्षणमा सहभागी थिए ।

प्रतिवेदन अनुसार सामुदायिक र निजी विद्यालयको कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीमध्ये ८२.८ प्रतिशत विद्यार्थीले कक्षा ३ को णित ज्ञानमध्येको भाग गर्ने सम्बन्धी समस्या समाधान गर्न नसकेको देखिन्छ । जसमध्ये पाँच कक्षामा अध्ययनरत २५ प्रतिशत र कक्षा ८ मा अध्ययनरत २७ प्रतिशत विद्यार्थीले मात्रै उक्त समस्या समाधान गर्न सकेका छन् ।

३ कक्षाको पाठ्यक्रम पनि जान्दैनन् ८ कक्षाका विद्यार्थी 

 कक्षा ८ सम्मका ७७.६१ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित प्रश्नको जवाफ समेत दिन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ । जसमध्ये कक्षा ५ को २९ प्रतिशत र कक्षा ८ को ४७ प्रतिशत विद्यार्थिले कक्षा ३ को पाठ्यक्रममा आधारित रहेर सोधिएका प्रश्नको जवाफ दिएको प्रतिवेदनले देखाएको छ ।

५ कक्षामा पढ्नेले चिन्दैनन् अंक र अक्षर 

प्रतिवेदनले कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अक्षर र अंक समेत नचिन्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा निजी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या बढी छ ।

सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ६.२० प्रतिशत विद्यार्थीले अंग्रेजी अक्षर र अंक चिन्दैनन् । यसमा निजी विद्यालयको प्रतिशत संख्या १.७८ छ । यस्तै सामुदायिक विद्यालयका ५.३० प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिन्दा निजी विद्यालयका ०.५३ प्रतिशतले नेपाली अंक र अक्षर नचिनेको देखिन्छ ।

कक्षा ५ मा अध्ययनरतमध्ये कथा पढेर जवाफ दिन सक्ने र गणितको भाग सम्बन्धी समस्या समाधान गर्न सक्ने विद्यार्र्थीको संख्या ५० प्रतिशत भन्दा कम छ । यो तथ्यांक सामुदायिक र निजी दुवैको हो भने यसमा सामुदायिक विद्यालयका विद्यार्थिको अवस्था थपै कमजोर पाइएको छ ।

अध्ययनमा समावेश भएका सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत २०.३० प्रतिशत विद्यार्थीले मात्रै अंग्रेजी विषयको पाठ्यक्रममा रहेको कथा पढेर प्रश्नको जवाफ दिन सकेका छन् भने निजी विद्यालयमा अध्ययनरत ४९.३८ विद्यार्थीले सो जवाफ दिएका छन् । 

प्रतिवेदन अनुसार कक्षा ८ मा पढ्ने ०.८३ प्रतिशत सामुदायिक र ०.४५ प्रतिशत निजी विद्यालयका विद्यार्थीले अंग्रेजी अंक र अक्षर चिन्न नसकेको देखाएको छ । १.११ प्रतिशत सामुदायिक विद्यालय र ०.३० प्रतिशत विद्यार्थीले नेपाली विषयको अंक र अक्षर नचिनेको देखिन्छ ।

३६.८४ प्रतिशत सामुदायिक विद्यालय र ५१.२२ प्रतिशत निजी विद्यालयमा कम्प्युटर ल्याब भेटिएको छ । तीमध्ये केही विद्यालयको ल्याबका कम्प्युटर चल्ने अवस्थामा नरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले निराश बनायोः मेयर पौडेल 

जितपुर सिमराका मेयर राजन पौडेलले सर्वेक्षणले देखाएको प्रतिवेदनको नतिजा निराशाजनक  रहेको बताए । 

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले उपमहानगरपालिकाभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताए ।

‘सर्वेक्षणले शैक्षिक अवस्था कस्तो छ भन्ने देखाएको छ । प्रतिवेदन हेर्दा रुन मन लाग्ने छ’ पौडेलले भने ‘अब यसलाई सुधार गर्नका लागि सबैको सहयोग आवश्यक छ ।’

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update