Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको नीतिमा छिर्‍याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा 

काठमाडौँ । सरकारले स्थानीय तहसँग समन्वय गरेर बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न कदम चाल्ने भएको छ । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जंगली जनावरबाट बाली जोगाउन स्थानीय तहसँग समन्वय गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने घोषणा गरेको हो । 

सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण, जैविक मार्ग पुनः स्थापना, नवीन प्रविधिको प्रयोग तथा वैकल्पिक कृषि बाली प्रवद्र्धन गरी वन्यजन्तु वासस्थान सुरक्षा र वन्यजन्तुबाट मानव जीवन तथा कृषिमा पर्ने असर न्यून गर्ने कामलाई प्राथमिकता दिने भनेको हो । 

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ । सरकारले  शिक्षकलाई राजनीतिक दलको सदस्य हुन नदिने गरी कानुन कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएको छ । 

सरकारले बञ्चरे डाँडा ल्याण्डफिल साइटको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्र बनाउने भएको छ ।

उपत्यकाको फोहोर तह लगाइने उक्त ठाउँमा बर्सेनि समस्या आउने गरेको छ । स्थानीयबासीले बारम्बार विभिन्न माग राखेर अवरोध गरिहँदा सरकारले उचित निकास पहिल्याउन सकेको छैन ।  

पौडेलले बञ्चरे डाँडाको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउने  बताएका हुन । ‘बञ्चरे डाँडा ल्याण्डफिल साइटको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।

फोहोर व्यवस्थापनमा समस्या आउन नदिन स्थानीयबासीसमेतको सहभागितामा संयन्त्र बनाउने नीति सरकारले लिएको घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको हो ।  

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update