Odapalika - The Fourth Estate - चौथो अंग
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग

काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । 

सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र सिद्धकुमाख गाउँपालिकाका सहारा विहीन बालबालिकालाई ५०/५० हजार रुपैयाँ नगद र खाद्यान्न सहयोग गर्ने निर्णय भएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । 

उनले उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।

‘सल्यानका दुई पालिकामा केही दिनको फरकमा दुःखद घटना घट्यो । जाने त गैहाले, सहारा विहीन बनेका स–साना बालबच्चाका लागि जनप्रतिनिधि र कर्मचारीको सहयोगमा राहत दिने निर्णय गरेका हौँ । आफुखुशी ५ सय रुपैयाँदेखि ३ हजारसम्म रुपैयाँ संकलन गरेर हामीले प्रतिपरिवार ५०÷५० हजार रुपैयाँ नगद र खाद्यान्न सहयोग गर्न लागेका हौँ’, उनले भने । 

उक्त रकम बिहीबार पालिका प्रमुख तथा सम्बन्धित वडाध्यक्षको रोहवरमा बच्चाका हजुरबुबालाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

‘हामीले उक्त रकम पालिकाको रोहवरमा अभिभावक र बच्चाको नाममा संयुक्त बैंक खाता खोलेर जम्मा गर्नेगरी हस्तान्तरण गर्न लागेका हौँ । अहिले बच्चाहरु हजुरबुबा र ठुलोबुबाको संरक्षणामा रहेको पाइएको छ । उहाँहरुकै सहयोगमा बैंकमा खाता खोलेर जम्मा गर्नेगरी हामीले नगद दिन्छाँै’, अध्यक्ष केसीले वडापालिकासँग भने ।

कसरी सहारा विहिन बने बालबालिका ?

गत मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव रानाले १३ दिनकी सुत्केरी पत्नीको हत्या गरेर आफूले समेत आत्महत्या गरे ।

उनले २७ वर्षीय श्रीमती केवली रानाको घाटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरी घर नजिकै झण्डिएका थिए । 

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीका अनुसार श्रीमतीको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र श्रीमान् घर नजिकैको झुण्डिएको अवस्थामा फेला परेको थिए । 

बुबाले आमाको हत्यापछि आफूले समेत आत्महत्या गर्दा राना दम्पत्तीका दुई छोरा र दुई छोरी अहिले सहारा विहिन बनेका छन् । 

यस्तै, वैशाख ३० गते बनगाड कुपिण्डे नगरपालिका–४ देउरालीमा २३ वर्षीय कमला बुढा र उनका ३४ वर्षीय श्रीमान् मनोज बुढा मृत फेला परेका थिए । 

मनोजले नै कमलाको हत्यापछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुका समेत ३ बच्चा अहिले वेसहारा बनेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update