काठमाडौँ । बैशाख २९ गते अपरान्ह रुकुम पश्चिममा पर्ने सानीभेरी गाउँपालिकाको वडा नम्बर ४ को गोलञ्चोरमा सारसुर पानी परेर रोकिएको थियो । घाम मधुरो थियो, धुलो माटो चिप्लिने गरी पानी परेको थियो । बारीमा मल घोप्ट्याइएको थियो । बाँझो जोतेको बारीमा मकै छर्दा हुने गरी जमिन भिजेको थियो । गाउँमाथिको सालघारी नयाँ चिउला केही छिप्प्याउँदै थियो ।
तर, त्यो दिन मकैं छर्ने तयारीमा थिएनन् गाउँले । कोही केही अघिको वर्षातले पानी छिरेका जस्ताका प्वाल टाल्न लागेका थिए । केही सिरक र डस्ना मधुरो घाममा सुकाउने हतारोमा थिए । आफूसँग पैसा भएकाहरु भने घर बनाउँदै थिए र पानी रोकिएकोले काम अघि बढाउन लागेका थिए । गाउँमा मार्तलको ट्वाकट्वाक आवाज आइरहेको थियो । अर्थात गाउँलेहरु गच्छेअनुसारको सुरक्षित आवाश निर्माणको तयारीमा थिए ।
गोलचौर गाउँको बीचतिर पर्ने एउटा अस्थायी टहराको ढोकामा २ वटा लठ्ठी ठडिएका थिए । र, सघारमा थ्याच्च बसेकी थिइन्– अम्बकुमारी चन्द । उनको अस्थायी टहराकै सामुन्ने अर्काे अस्थायी टहरा थियो । त्यो टहरा नजिकै त्यसैगरी बसेका थिए उनका श्रीमान कमान चन्द ।
अम्बकुमारी उमेरले ६८ वर्षकी भइन् । र, उनका श्रीमान ७३ वर्ष । उनीहरुको दैनिकी ढोकाको सघारमा बसेर टेलाउँदै वित्छ । किनभने उनीहरुको भोगेको नियति कुनै कथानक चलचित्रको निर्दयी दृश्यभन्दा कयौं कठोर छ ।
भूकम्पका कारण उनीहरुले भोग्नुपरेको जनधनको क्षतिका बारेमा कुरा गर्दै जादा अम्बकुमारीले एउटा अत्यासलाग्दो कुरा सुनाइन् । उनी हामीलाई त्यो अत्यासलाग्दो कुरा सुनाउँदै गर्दा उनका श्रीमान कमान भने नजिकै आफै बोलिरहेका थिए ।
अमेरिकी सपनाले सकेको छोरो र १ करोड
अम्बकुमारीका छोरा बलबहादुर चन्द स्वास्थ्य विषय पढेका व्यक्ति हुन् । उनी सानीभेरी र भेरी नदीको संगमस्थल रिम्नामा मेडिकल चलाएर बसेका थिए । र, बलबहादुरलाई साथ दिएकी थिइन् उनकी श्रीमती विनिता केसीले ।
‘छोरा बुहारीले पसल गर्थे । औधरी बेच्थे । कमाइ राम्रै थियो भन्थे । केटाकेटीलाई पनि राम्रैसँग पढाएका थिए । दशा लाग्यो, सबै सकियो,’ अम्बकुमारीले वडापालिकासँग भनिन् ।
अरुले भोगेको एक भयानक र पृथक भूकम्प पनि भोगेकी रहिछिन् अम्बकुमारीले ।
उनका छोराबुहारीले रिम्नामा औषधी पसलबाट राम्रै कमाइ गर्ने गरेका रहेछन् । करिब ४ वर्षअघि अम्बकुमारीका छोरा बलबहादुरलाई कसैले आएर अमेरिका जाने सपना सुनाएछ । र, उनलाई करिब १ करोड रुपैयाँ लाग्ने भनिएछ ।
‘यहाँ ठिकै थियो । दशा लागेछ । उदो (विदेश, खासमा अमेरिका) जान्छु भन्यो । बुहारीले चिनेका मान्छे रहेछन् । पैसा बुझायो । ४ वर्षसम्म कहाँ गयो, के भयो थाहा भएन । पछि त अमेरिका जान नसकेर फर्केको छ रे भने,’ अम्बकुमारीले भनिन् ।
छोरा बेपत्ता भएको समयमा बुहारीसँग फोन वा फेसबुकमा सम्पर्क हुन्थ्यो कि हुँदैनथ्यो भन्ने पनि उनलाई थाहा छैन ।
यही बीचमा त्रासदीपूर्ण भूकम्प आयो कात्तिक १७ गते राति ११ः४७ बजे । यो २०८० सालको कुरा थियो । यता बलबहादुर भने बेपत्ता नै थिए ।
यस्तैमा गत चैत ५ गते अम्बकुमारीकी बुहारी विनिता केसी काठमाडौँ जान भनेर हिडिन् । बुहारी काठमाडौँ जान लागेकोमा अम्बकुमारीलाई केही खुसी पनि लागेको थियो रे ।
‘बुहारीले त खासै त्यस्तो भनिन । तर, अरुले चै छोरो काठमाडौँ आएको छ, त्यसैले भेट्न विनिता जान लागेकी भनेका थिए । छोरो आएको छ र उसलाई बुहारीले भेटेर आउछे भने त राम्रै भयो नि भन्ने मलाई लागेको थियो,’ अम्बकुमारीले भनिन् ।
तर, चैत ५ गते साँझ छिप्पिन नपाउँदै अम्बकुमारको कानसम्म अप्रिय खबर पुग्यो । खबर थियो– रुकुम पश्चिमबाट काठमाडौँ गएको नाइटबस बाग्लुङको निसीखोला गाउँपालिका–६ मा पर्ने जाउलेपानीमा दुर्घटनामा परेको छ, धेरै मान्छे मरेका छन् । सबै जना घाइते भएका छन् ।
‘गाडी दुर्घटना भएको खबर आयो, यता र उता फोन घुमाइयौं । हाम्री बुहारी त परेकी छैन होला कि भन्ने थियो । पछि सडकमा लास राखेको फोटो देखियो । त्यसमा हाम्री बुहारीको लास पनि थियो,’ अम्बकुमारीले भनिन् ।
एक करोड रुपैयाँ दलाललाई दिएर ‘तल्लोबाटो’ अमेरिका छिर्ने सपना पूरा नभएपछि नेपाल फर्केका बलबहादुरले श्रीमती भेट्न पाएनन् । एक करोड रुपैयाँ फसाएर ४ वर्षदेखि बेपत्ता छोराको खबर लिन गएकी बुहारी पनि बाग्लुङको जाउलेपानीमा अस्ताइन् । आफू जाने बेलामा बुहारीलाई पठाउनु परेकोमा उल्टो भयो भन्ने लागेको छ अम्बकुमारीलाई ।
बलबहादुरका एक छोरा र १ छोरी छिन् । छोरा ११ वर्ष र छोरी ८ वर्षकी भइन् । ती बच्चाका बाबु बेपत्ता छन्, आमा मरिसकिन् र हजुरबा हजुरआमा बृद्ध अवस्थाका छन् ।
अम्बकुमारीका अर्का छोरा भिन्नु भएर गोलचौरभन्दा पारीको गाउँमा बस्छन् । बलबहादुर ११ वर्षीय छोरालाई उनको ठूलाबुबाले सँगै राखेर हेरचाह गर्न थालेका छन् । र, उनकी छोरीलाई विनिताको माइतीले हेरचाहको लागि लगेका छन् ।
‘छोरा उदो गएको उतै बेपत्ता छ । बुहारी मरिगइ । नातिनातिना पनि कता गए कता । घर पनि भूकम्पले भत्काइदियो । यो टहरोमा बसेका छौं । हामीलाई चै किन काल नआएको होला,’ अम्बकुमारी कुरा गर्दागर्दै आफैसँग झिज्जिइन् ।
गत कात्तिक २७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलो संख्यामा जनधनको क्षति पुर्यायो । सो भूकम्पमा परी १५७ जनाको ज्यान गयो । यही भूकम्पका कारण अम्बकुमारी र कमानको घर भत्किएको छ । र, उनीहरु अहिले अस्थायी टहरामा छन् ।
कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै घरजस्तै अम्बकुमारी र कमानको घर पनि भत्किएको छ । ती दुई जिल्लाका अधिकांशको घर भत्किए पनि संघीय सरकारले कस्तो घर बनाउने, कहिलेसम्ममा बनाउने, कसरी बनाउने, कति अनुदान दिने भन्ने जस्ता विषय खुलाएको छैन ।
संघीय सरकारले भूकम्पबाट घर भत्किएका नागरिकका लागि अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरिसकेको छ । र, अस्थायी टहरा बनाउनको लागि प्रतिपरिवार २५ हजार रुपैयाँका दरले पहिलो किस्ता अनुदान पनि दिइसकेको छ । तर, दोस्रो किस्ता रकम कहिले आउँछ र भूकम्पबाट भएको क्षतिको पुननिर्माण सम्बन्धी कार्यविधि कहिले आउँछ भन्ने प्रश्न स्थानीय सरकारका जनप्रतिनिधिसँग सोधिदैछ ।
‘हामीले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ आउँछ भनेर भनेका थियौं । संघीय सरकारले यही भनेको थियो । तर, दोस्रो किस्ता आएकै छैन । जनता अस्थायी टहरामै छन् । यो वर्षा अघि नै ३० प्रतिशत जति घर बनाइसकिन्छ होला भन्ने हाम्रो अनुमान थियो । कार्यविधि नआउँदा पुननिर्माण सुरु भएकै छैन । कहिले कार्यविधि आउने, कहिलेदेखि पुननिर्माण सुरु गर्ने भन्ने अन्योल छ । जनताले हामीसँग सोधेका छन्, हामीसँग जवाफ छैन । धेरै समस्या भएको छ,’ सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्ट भन्छन् ।
रुकुम पश्चिमका स्थानीय तहहरुको स्थलगत भ्रमण गर्दा के तथ्य पाइयो भने संघीय सरकारले पुननिर्माण सम्बन्धी कार्यविधि नबनाउँदा भूकम्प पीडितको अवस्था दयनीय भएको छ । अलि ठूलो हावाहुरी आयो भने अस्थायी टहराको जस्ता उडाएर लैजान्छ । पानी चुहिन्छ । चिसोले केटाकेटी, विरामी र जेष्ठ नागरिकलाई असाध्यै समस्या भएको छ ।
यही समयमा संघीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । तर, गृहमन्त्री रवि लामिछानेको गृहमन्त्री पद जोगाउन र त्यसैका आधारमा आफ्नो पद लम्ब्याउन राजनीतिक छलफलमा व्यस्त छन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्री प्रचण्डको प्राथमिकतामा अम्बकुमारी लगायतलाई अस्थायी टहरा बनाउन दोस्रो किस्ता दिने कार्य परेको छैन । एउटा कार्यविधि बनाएर पठाउने हो भने स्थानीय तहको समन्वयमा भूकम्प पीडितको घर निर्माण सुरु हुने अवस्था देखियो । तर, प्रधानमन्त्री प्रचण्डको प्राथमिकतामा कार्यविधि परेको छैन ।
संघीय सरकार अर्थात प्रधानमन्त्री प्रचण्डकै कारण अम्बकुमारीहरुको घर बनाउन ढिलाइ भइरकेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डलाई सार्वजनिक रुपमै सोध्नुपर्ने भएको छ– प्रधानमन्त्रीज्यू ! अम्बकुमारीको घर कहिले बन्छ ?
(रुकुम पश्चिमको स्थलगत भ्रमणबाट फर्केपछि)