Odapalika - The Fourth Estate - चौथो अंग
आज राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक, चल्न दिएला कांग्रेसले ? 

काठमाडौँ  । संघीय संसद्अन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ ।

बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

बिहीबार बैंठक प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि सभाभित्र असहज स्थिति बनेको थियो  । 

सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए तर, प्रतिपक्षीले लामिछानेलाई रोक्न खोजेपछि एमालेका सांसद प्रतिकारमा उत्रिदा दुई पक्षका सांसदबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो  । त्यसपछि कांग्रेसका सांसदहरुले नाराबाजी जारी राख्दा सभामुखले बैठक आज ११ बजे सम्मका लागि स्थगित गरे  । 

पछिल्लो समय रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको बचत अपचलनबारेसंसदीय छानबिन गर्न कांग्रेसले समिति गठन गर्नुपर्ने माग गरेर सदन अवरोध गर्दै आएको छ  । 

तर, संसद सचिवालयले भने बैठक बस्ने नबस्ने अन्यौंलताकाबीच दुवै सदनको सम्भावित कार्यसूची बनाएको छ  । 

यस्तै, राष्ट्रिय सभा बैठक पनि दिउँसो सवा १ बजेका लागि बोलाइएको छ  । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने,राष्ट्रपतिबाट भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची छन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन गर्ने, कानूनमन्त्री र सञ्चारमन्त्रीले विधेयक पेश गर्नेलगायतका विविध कार्यसूची उल्लेख छन्  ।

प्रनिनिधिसभामा यस्तो छ सम्भावित आजको कार्यसूची

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन्  । 

सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची छ । 

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि ‘धन्यवाद प्रस्ताव’ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

कांग्रेसले आजको बैठकमा पनि विरोध जारी राख्ने जनाएको छ  । यद्यपि बैठक बस्ने, नबस्ने अन्योलता कायमै छ  । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update