Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस संसदीय दलको निर्णयः सभामुखप्रति रुष्ट, समिति गठनको अडान कायमै 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने पुनः निर्णय गरेको छ । 

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दल बैठकले बिहीबारको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि बोल्दै सहकारीको रकम अपचलनमा गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

लेखकले भनेका छन्, ‘संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ ।’ 

आजको बैठकले सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर समेत गरेको लेखकले जानकारी दिए । 

‘प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौं । विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ कांग्रेस बैठकले निष्कर्ष निकालेको छ । 

लेखकले भने सभामुखले सभामा तटस्थ हुन नसकेको बताएका छन् । ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update