Odapalika - The Fourth Estate - चौथो अंग
कालिकाले दियो दूधमा अनुदान, कसलाई कति ? 

चितवन । कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । 

किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहन गर्न प्रति लिटर १ रुपैयाँका दरले अनुदान वितरण गरेको हो । 

नगरपालिकाले नगरभित्रका ७ वटा दुग्ध सहकारी तथा २ वटा व्यक्तिगत फार्मलाई उत्पादनका आधारमा ३४ लाख ४७ हजार ६९३ रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको नगरप्रमुख विनोद रेग्मी बताउँछन् ।

उनकाअनुसार पदमपुर, मनकामना, कञ्चन, नवमिलिजुली, उत्थान, सामुदायिक र भटेनी दुग्ध उत्पादक सहकारी संस्थाले अनुदान रकम पाएका छन् ।

व्यक्तिगत फार्म सञ्चालन गरेका कान्छी मगर र कृष्णप्रसाद घिमिरेले पनि अनुदान रकम प्राप्त गरेको रेग्मीले बताए । ४ वर्षदेखि नगरभित्रका दुग्ध बिक्री गर्ने किसानलाई नगरपालिकाले दूधमा उत्पादनका आधारमा अनुदान दिँदै आएको छ । यसअघि वार्षिक १० हजार लिटर भन्दाबढी दूध बिक्री गर्ने किसानलाई २५ हजार रुपैयाँका दरले अनुदान दिँदै आएको थियो ।

यस वर्षदेखि दूध उत्पादनको आधारमा अनुदान वितरण थालिएको नगर पशु सेवा शाख प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले कार्यविधि बनाएर दूधमा अनुदान दिन थालेको हो । 

दूध उत्पादन गरी सहकारी संस्थामार्फत बिक्री गर्ने किसान÷व्यवसायीलाई प्रदेश अनुदानमा थप गरी दुग्ध उत्पादनतर्फ आकर्षण बढाउने नगरपालिकाको मुख्य योजना छ । 

अनुदान वितरण कार्यक्रममा नगरप्रमुख रेग्मीले किसानलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरिएको बताए । 

‘दाना चोक्कर खुवाएर भन्दा घाँस खुवाएर दूध उत्पादन राम्रो हुन्छ’ नगर प्रमुख रेग्मीले भने, ‘दूध उत्पादनका आधारमा दिइएको अनुदानका कारण गत वर्षभन्दा यसवर्ष दूध उत्पादनमा वृद्धि भएको छ ।’

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update