Odapalika - The Fourth Estate - चौथो अंग
मेयरलाई काफल नबेच्ने रुकुम पश्चिमका किशोरीहरु

काठमाडौँ । बैशाख ३१ गते दिउसोको १ बजेको थियो होला । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प बादीको स्कर्पियो नगरपालिकाबाट कच्ची बाटो हुँदै वडा नम्बर ९ को न्याउली बजार पुगेको थियो । 

गाडीको गति कम थियो । एक त कच्ची बाटो, त्यसमा पनि अघिल्लो दिन परेको पानीले बाटोमा खाल्डाखुल्डी थपेको थियो । अनि उकालो । गाडीको गति कम किन नहोस् !

मेयर बादी गाडीमा ड्राइभरसँगैको सिटमा बसेका थिए । वरिष्ठ पत्रकार किशोर नेपालको नेतृत्वमा केही पत्रकारहरुको टोली सोही स्कर्पियोमा पछाडीको सिटमा थियौं ।

गाडी हिड्ने बाटोभन्दा केही मास्तिरबाट ६ जना किशोरीको एउटा समुह गाडी हिड्ने बाटोमा मिसियो ।

‘ल यी नानीहरुले के टिपेर ल्याए ? काफल हो कि ऐसेलु ? किनेर खानुपर्छ । कालो ऐसेलु रहेछ भने त झन मिठो हुन्छ सर,’ मेयर बादीले यसो भन्दै न्याउली बजारमा गाडी रोक्न लगाए ।

मेयर बादीसहित हामी सबै गाडीमै थियौं । किशोरीको समुह चालक बसेको तिरबाट हामीलाई क्रस गर्दै थियो । चालकले भने– के ल्याएको, काफल कि ऐसेलु ?

काफल– समुहकी एक किशोरीले एक शब्दको जवाफ दिइन् ।

‘बेच न नानी, हामी काफल किन्छौं । मसँग हाम्रा पाहुनाहरु हुनुहुन्छ, उहाँहरुलाई चौरजहारीको काफल चखाउनु पर्छ,’ मेयर बादी आफ्नो सिटबाट तन्केर चालकको झ्यालबाट किशोरीलाई भन्न थाले ।

kafal-nabechne-kishoriharu1-1715947134.jpg
‘बेच्दैनम हामी । बेच्न ल्याएको होइन । कति दुःख गरेर बल्लबल्ल पाएको । हामी त नबेच्ने,’ किशोरीहरुले भने । यसो भन्दा नभन्दै उनीहरु हामी चढेको गाडी कटेर अघि बढिसकेका थिए ।

उनीहरुको जवाफ मेयर बादीलाई पनि अनौठो लागेछ । उनी हास्दै थिए । र, हामीलाई काफल चखाउन नपाइने हो कि भन्ने संसयमा थिए सायद । त्यसैले झट्टपट्ट गाडीबाट झरे । अनि भने– किन्नलाई हो के, एउटैले दिनु पर्दैन, सबैले मिलेर एक–दुई मुठ्ठी गरेर एक मानो जति भएपनि देउ न !

‘दिदैनम हामी त । माग्दा हामीलाई कसैले दिन्छ र ? हामीले बेच्न ल्याएको पनि होइन। आफैँ खान ल्याएकाे हाे नबेच्ने,’ यसो भन्दै किशोरीको समुह निकै अघि बढ्यो ।

मेयर बादीले काफल किन्न किशोरीहरूसँग निक्कै नै अनुराेध गरेकाे न्याउली बजारका पसलेले पनि हेरिरहेका थिए । त्यतिबेलासम्म हामी पनि गाडीबाट ओर्लिसकेका थियौं । गाडीबाट हामी झरेको र मेयरले काफल किन्न अनुरोध गरेको देखिरहेका स्थानीय पसलेहरुले पनि किशोरीहरुलाई केही काफल दिन भने । अलि पर पुगिसकेका किशोरीहरु एकछिन उभिएर एकापसमा खासखुस गरे । त्यसपछि भने बल्ल काफल दिन तयार भए ।

‘धेरै काफल नै छैन के । त्यत्रो एक दुई माना दिन पुग्दैन । अलिकति चाख्न भए दिउला, आउनु,’ एक किशोरीले भनिन् ।

मेयर बादीसँग काफल थाप्ने भाडो भएन । नजिकैको पसलेले प्लाष्टिकको रातो झोला दिए । अनि सबै किशोरीले एक–एक मुठी काफल दिए । मेयर बादीले उनीहरुलाई काफलको पैसा दिन खोजे ।

‘हामीले बेचेको होइन । लिदैनम पैसासैसा । त्यस्तो दुःख गरेर ल्याएको काफल कसैले बेच्छ,’ मेयरले पैसा दिन लाग्दा रिसाएका किशोरीहरु यसो भन्दै अघि बढे । मेयर बादी हाँसेको हाँस्यै भए । अनि गाडी चढ्यौं र काफल खादै अघि बढियो ।

गाडीमा चढेपछि मेयर बादीले सो क्षेत्रमा पाइने काफलका बारेमा बताए । यसपालिको हिउदमा लागेको डढेलोले बन सखाप भएको र काफल पनि सकिएको उनले सुनाए ।

‘यसपालिको डढेलोले खत्तम नपारेको भए सरहरुलाई रुखबाटै टिपेर काफल ख्वाउन सक्थेँ । तर, डढेलोले सबै सक्यो । यतातिर धेरै काफल हुन्छ सर । यी बाटामुनी डढेका देखिएका रुखहरु काफलका हुन् । अर्काे बर्ष चै खान पाइन्छ कि ! यसपालि त नपाइने भयो,’ काफल चखाउँदै मेयर बादीले भने ।

गाडी अघि बढ्दै थियो । मेयर बादी हामीलाई काफलको कुरा सुनाउदै गए । सो क्षेत्रलाई काफलको पकेट क्षेत्र घोषणा गर्ने तथा काफलको जुस, वाइन जस्ता बस्तु उत्पादन गरी बजारमा पठाउने आफ्नो सोच रहेको सुनाइरहे । चौरजहारी नगरपालिकाले आफ्नै लगानीमा केही उद्योगहरु पनि स्थापना गरेकोले काफल पकेट क्षेत्र घोषणा गरी त्यसबाट विभिन्न उत्पादन तयार पारेर बजार पठाउन सकिने मेयर बादीको योजना रहेछ ।

न्याउली बजारबाट सुरु भएको काफल कथा अलि लामै समय चल्यो । रुकुम पश्चिमका किशोरीहरु त्यही नगरपालिकाका मेयरलाई काफल बेच्न अनिच्छुक देखिनु आफैमा अनौठो थियो । माओवादीले विगतमा संचालन गरेको सशस्त्र विद्रोहको एउटा उद्देश्य नागरिक सर्वाेच्चता पनि थियो । 

सायद त्यही सर्वाेच्चता प्रयोग गर्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका किशोरीहरु आफ्नै नगरपालिकाका मेयरलाई काफल बेच्न तयार देखिएनन् । र, पछि काफल दिन तयार भएपनि पैसा लिएनन् । 

सो नगरपालिकाका मेयर बादी नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका माओवादीका केन्द्रीयस्तरका नेता पनि हुन् ।

(रुकुम पश्चिमको स्थलगत भ्रमणबाट फर्केपछि)

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update