Odapalika - The Fourth Estate - चौथो अंग
गरे के हुन्न ? २ वर्षमा चन्द्रकोट गाउँपालिकाका १३० काम 

काठमाडौँ । २ वर्षअघि स्थानीय जनताको मत पाएर पालिका हाँक्न पदभार ग्रहण गर्दै गर्दा गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले ३ वटा प्राथमिकता निर्धारण गरेका थिए । 

पालिकाको पूर्वाधार विकास, पर्यटन र कृषिका क्षेत्रमा लगानी बढाइ जनताको जीवनस्तर उकास्ने योजना बनाएको उनी नेतृत्वको स्थानीय सरकारले २ वर्ष पुरा गरेको छ । 

यो २ वर्षको अवधिमा पालिकाले क्षत्रेगत रुपमा १३० वटा भन्दा बढी देखिने तहका काम गरेको छ । यी काममध्ये केही यस्ता काम छन्, जसलाई अन्य स्थानीय तहले समेत अनुसरण गर्न योग्य देखिन्छन् । 

कृषि पशुपालन र बैदेशिक रोजगारमार्फत प्राप्त रेमिट्यान्सले धान्दै आएको चन्द्रकोट गाउँपालिका अब विस्तारै समृद्धिको बाटोमा लम्कदै छ । 

पूर्वाधारमा अब्बल बन्दै 

गाउँपालिका अध्यक्ष क्षेत्रीका अनुसार जनप्रतिनिधिले पदभार ग्रहण गरेको २ वर्षको अवधिमा पालिकाभित्र साढे १४ किलोमटिर सडक पक्की बनेको छ भने २४ किलोमटिर सडकको ट्रयाक खुलेको छ । बजारका मुख्य क्षेत्रहरुमा नाली व्यवस्थापनका क्रमागत योजनालाई निरन्तरता दिएको पालिकाले विभिन्न स्थानको सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि वढाइरहेको अध्यक्ष क्षेत्री बताउँछन् । 

खेलमैदान निर्माणदेखि एकीकृत बस्ती विकासका कामले गति लिएको उनको भनाइ छ । 

‘एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत शान्तिपुरको श्रीलंका टोल र फूलवारी टोलमा सडक कालोपत्रे तथा ढलान भएको छ भने २ वटा झोलुंगे पुल २ वर्षभित्रैमा संचालनमा ल्याएका छौँ,’ अध्यक्ष क्षेत्रीले वडापालिकासँग भने । यो अवधिमा ३ वटा स्वास्थ्य केन्द्रको भवन बनेको छ भने अर्को एउटा बन्ने चरणमा छ । 

यातायत गुरुयोजनादेखि अस्पतालसम्मले लिदैछ गति 

अध्यक्ष क्षेत्रीका अनुसार पालिकाकाभित्रका सडकलाई दीगो र भरपर्दो बनाउन पालिकास्तरीय यातायत गुरुयोजना बनेको छ ।  पालिकाभित्रका भूमिलाई बर्गीकरण गरी भूउपयोगलाई बैज्ञानिक बनाउने अभियानमा यतिबेला पालिका जुटेको अध्यक्ष क्षेत्री सुनाउँछन् । 

पालिका भवन बनाइरहेको चन्द्रकोटमा १५ बेडको शान्तिपुर अस्पताल निर्माणको काम अन्तिम चरणमा छ । ९० प्रतिशत काम सकिइसकेको यो अस्पताल संचालनमा आएपछि पालिकाभित्रका सामान्य बिरामीले अब उपचारका लागि सदरमुकाम र जिल्ला बाहिर धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने पालिकाको विश्वास छ । 

विभिन्न पोखरीहरुको निर्माण, खानेपानी योजनाहरुको निर्माणलगायतका कामले गति मात्र लिका छैनन, २ वर्षको अवधिमा कतिपय आयोजना तयार भएर संचालनमा समेत आइसकेका छन् । 

chandrakot-1716101406.jpg
यो अवधिमा पालिकाभित्र ५ किलोमिटर हाराहारीमा खानेपानीको पाइपलाइन बिस्तार भइसकेको छ भने  साढे ६ किलोमिटर सिंचाइ कुलो निर्माण भएको छ । 

पालिकाभित्र बाह्रै महिना यातायत सुविधका लागि सडक मर्मतलाई प्राथमिकतामा राखेको पालिकाले पर्यटन पूर्वाधार विकासमा समेत चासो दिदै आएको छ । पालिकाभित्रका अर्जेवा झरना, चन्द्रकोट मन्दिर, टिमुरेताल, रुमालवारी, पाटेचौर पिकनिक स्पटलगायतका स्थानको पूर्वाधार निर्माण र सौन्दर्यीकरणका योजनाहरु संचालनमा रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ । 

बिपन्नको बीमा, सुत्केरीलाई सवारी 

स्थानीयको स्वास्थ्य अवस्थामा संवेदनशील देखिएको चन्द्रकोट गाउँपालिकाले २ वर्षको अवधिमा झण्डै २ हजार नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ भने विपन्न नागरिकको निःशुल्क बीमा कार्यक्रम अघि बढाएको छ । 

सुत्केरी हुन जिल्ला बाहिर लैजान पर्ने अवस्थामा अस्पतालले रिफर गरेका गर्भवतीलाई यातायतमा लाग्ने सबै खर्च पालिकाले व्यहोर्दै आएको छ । यो अभियानबाट हालसम्म ५३ जना गर्भवतीलले लाभ पाएको अध्यक्ष क्षेत्री बताउँछन् । 

पालिकाभित्रका ५ वटा स्वास्थ्य संस्थासँग अहिले आफ्नै ल्याव छन् भने आँखा अस्पतालमार्फत पालिकाको पहलमा निःशुल्क मोतियाबिन्दुको उपचार भइरहेको छ । 

पालिकाभित्र घरमा सुत्केरी हुने दर वडास्तरमा समेत सुन्यमा झार्न सफल भएको अध्यक्ष क्षेत्री बताउँछन् । यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पालिकाले उपचार किड्स र झोलालगायतका सामग्री बितरण गर्दै आएको छ । 

आम र बच्चालाई कस्तो छ भनेर चिकित्सकहरु घरघरमै पुगेर निगरानी राख्ने गरेको अध्यक्षको भनाइ छ । उनका अनुसार गम्भीर प्रकृतिका बिरामी, ज्येष्ठ नागरिक असक्तहरुको उपचारमा आर्थिक सहायता दिने काम पनि पालिकाले साथसाथै अघि वढाइरहेको छ । 

आफ्नै पाठ्यक्रम, निःशुल्क प्राविधिक शिक्षा 

पालिकाले हाम्रो चन्द्रकोट नामक स्थानीय पाठ्यक्रम तयार पारेर अहिले पुस्तक लेखनको कामलाई अघि वढाएको छ भने प्रत्येक वडाका २ जना छात्रछात्रालाई प्राविधिक शिक्षालयमा निःशुल्क अध्ययनको सुविधा उपलव्ध गराएको छ । 

बालविकाशका शिक्षकहरुलाई तालिम दिने, अपांगता भएका विद्यार्थीको अभिलेख राख्ने प्रोफाइल तयार पार्नेजस्ता काममा पालिकाले उल्लेख्य सफलता हासिल गरिसकेको अध्यक्ष क्षेत्रीको दाबी छ । 

महिलालाई सीप, दलितलाई आरन 

पालिकाले स्थानीय महिलालाई सीपयुक्त बनाउन मुढा, जुक्ताचप्पल, झोला, अचार बनाउनेलगायतका तालिम दिदै आएको छ । 

यो अभियानबाट पालिकाभित्रका १ सय भन्दा वढी गृहिणी लघु उद्यमी बन्ने बाटोमा लम्किएको पालिकाको भनाइ छ । आदिवासी समुदायका युवालाई लक्षित गरेर चालक चालिम दिने, दलित समुदायको परम्परागत पेशा प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाभित्रका ४१ जना आरन व्यवसायीलाई ग्रेडर मेसिन र आधुनिक पंखा बितरण, दलित लक्षित कार्यक्रम अन्तरगत पञ्चेबाजा समूहलाई बाजा उपलव्ध गराउने लगायतका काम पालिकाले गरिरहेको छ ।  

chandrakot-1-1716101444.jpg
ज्येष्ठ नगारिकलाई परिचय पत्र दिएको पालिकाले २०० भन्दा वढी ज्येष्ठ नागरिकलाई तातोपानी खुवाउने उद्धेश्यले थर्मस वितरणलगायतका काम पनि गरेको छ । 

कृषिमा अनुदान 

कृषि मात्र होइन भान्सालाई पर्यावरणमैत्री बनाउनुपर्छ भन्ने सोचका साथ पालिकाले विद्युतीय चुलोसमेत अनुदानमा उपलव्ध गराउँदै आएको छ । 

विद्युतीय चुलो खरिद गर्नेलाई ५०० रुपैयाँ अनुदान दिएको पालिकाले  यो प्रक्रियाबाट हालसम्म १३ सय जनालाई विद्युतीय चुलो वितरण गरिसकेको जनाएको छ । 

सामुदायिक विद्युत उपभोक्ता समितिसँगको सहकार्यमा पालिकाले विपन्न नागरिकलाई निःशुल्क विद्युत मिटर जडान गरिदिने, कृषकहरुलाई कृषि उपकरण अनुदानमा उपलव्ध गराउनेजसता काम पनि संगसँगै गर्दै आएको छ । 

एक वडा एक उत्पादन, स्मार्ट कृषि गाउँ, अगुवा कृषक भ्रमणजस्ता कार्यक्रमको प्रभावकारिता वढ्दै गएपछि हौसिएको पालिकाले वडालाई हरेक कृषि पकेट क्षेत्र नै घोषणा गरेको छ । 

chandrakot-4-1716101467.jpg
आलु, मौरीलगायतका पकेट क्षेत्रका कृष्कले अनुदानमा विउ, मौरीका घार, मललगायतका सामग्री पाउँछन् भने निःशुल्क माटो परीक्षण, माटो हेल्थ कार्ड, कम्पोष्ट मल बनाउने तालिमलगायतका कृषिलक्षित कार्यक्रम पालिकाले प्राथमिकताका साथ संचालन गरिरहेको अध्यक्ष क्षेत्रीको भनाइ छ । 

चियाखेतीलाई समेत पछिल्लो दिन पालिकाले प्राथमिकतामा राखेको छ भने कृषकका लागि मलको बजार मूल्य निर्धारण गर्ने, पशु बीमा गरिदिनेजस्ता काममा पनि पालिकाको साथ छ । 

उद्यमी बन्न पालिकाको साथ 

पालिकाले उद्यमी बन्न चाहनेहरुका लागि तालिमलगायतका सुविधा पनि उपलव्ध गराउँदै आएको छ । 

लघु उद्यमशीलता विकाश कार्यक्रमअन्तरगत विभिन्न समूहलाई सीप सिकाउने, सामग्री उपलव्ध गराउने, बेरोजगारहरुको पहिचान गरी ३ महिने रोजगारी दिलाउने लगायतका काममा पनि पालिकाले साथ दिदै आएको अध्यक्ष क्षेत्री बताउँछन् । 

chandrakot-2-1716101491.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update