Odapalika - The Fourth Estate - चौथो अंग
महानगरले दियो १७७ जनालाई निःशुल्क नासु र अधिकृत तयारी कक्षा 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो । 

कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् । १०५ जना शाखा अधिकृत पदका लागि छन् ।  

कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए ।

‘युवाहरुको वौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

नेपाल सरकारका पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, वौद्धिक क्षमता र  सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । 

तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनैपर्छ । कक्षा बीचैमा छोड्ने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्ने नियम छ । 

तालिम संयोजक रितु कर्णकाअनुसार तालिम भदौसम्म चल्नेछ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update